नेपाल वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान


काठमाडाैं-नेपाल वायुसेवा निगम उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानबाट सम्मानित भएको छ ।

भारतमा लामो समयदेखि टुरिजम ब्राण्डिङ्ग तथा प्रचार-प्रसार गर्दै आएको मुसाफिर मिडिया हबले निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानबाट सम्मानित गरेको हो ।

मिडिया हबले भारतमा उडान भर्ने एयरलाइन्समध्ये सन् २०२३ को लागि निगमलाई छनोट गरेको थियो ।

१६ नोभेम्बर २०२३ मा दिल्लीमा आयोजित एक कार्यक्रममा सम्मान घोषणा गरिएको थियो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्मान प्राप्त हुँदा खुसी लागेको बताए । यसले अझै जिम्मेवारीपूर्वक काम गर्न प्रेरणा मिलेको उनको भनाइ छ ।

निगमले हाल अन्तर्राष्ट्रियतर्फ चारवटा जहाजबाट दिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, दमाम, बैंकक, हङ्गकङ्ग, मलेसिया, जापानलगायत दश गन्तव्यमा उडान भरिरहेको छ ।

त्यसैगरी आन्तरिकतर्फ दुइटा ट्वीनअटर जहाजबाट ताप्लेजुङ, ईलाम, भोजपुर, फाप्लु, थामखर्क, खानिडाँडा, रुकुम, नेपालगञ्ज, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा ताल्चा, दाङ, रेसुङ्गालगायत १५ गन्तव्यमा उडान भरिरहेको छ ।

दशैं तिहारजस्ता चाडवाडमा यात्रुको चाप र आवश्यकतालाई मध्यनजर गर्दै निगमले एउटा जहाज नेपालगन्जमा राखेर रुकुम, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा ताल्चा जस्ता दुर्गम क्षेत्रमा समेत उडान भर्दै आएको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

प्रतिक्रिया