

अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीले बोलाए बृहत् बैठक

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि आगामी मङ्सिर ४ गते बृहत् बैठक बोलाएका छन् ।
आइतबार तनहुँको आँबुखैरेनीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण रहे पनि अहिले क्रमशः सुधार भइरहेको बताए ।
‘मैले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो । अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर दबाबमुक्त भइसकेको छैन । मङ्सिर ४ गते मैले अर्थतन्त्र सुधार्न बृहत् बैठक बोलाएको छु ।’
उनले त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुने भन्दै सोही बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याउने दाबी गरे ।

