टिकटकलाई कानुनी दायरामा ल्याएर मर्यादित भएर चलाउन पाइयोस्ः बालेन


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले टिकटक बन्द गर्ने नभएर अन्य सामाजिक सञ्जाल पनि नियम, कानून र करको दायरामा ल्याएर चलाउनुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो फेक आइडीमार्फत पुराना भिडिओहरु पोस्ट गरी दुरुपयोग भएको समेत उल्लेख गर्दै तर टिकटक बन्दै भने गर्न नहुने बताए ।

उनले लेखेका छन, ‘अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्दा राम्रो होला । अब भनेको करको दायरामा ल्याउने र टिकटकमार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने हो । अहिले जस्तो बन्द नै गर्ने होइन । बन्द समाधान होइन ।’

सरकारको बन्द गर्न निर्णयले विकृति फैल्याउने किसिमका आइडी, पोस्ट नियमन गर्ने दह्रो आधार टिकटकसँग बनोस् र मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् भन्ने कामना पनि मेयर बालेनले गरेका छन् ।

‘अब यो बन्दलाई टिकटकसँग नियमन गर्नलाई दह्रो आधार बनोस् । मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस्’, उनले लेखेका छन् ।

यस्ताे छ बालेनकाे स्टाटस :

यदि तपाईँहरू टिकटक चलाउनुहुन्थ्यो भने धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरुपयोग गरेर ‘टिकटक लाइभ’ गरेको देख्नु भयो होला । केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन् । जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन् ।

हामीले यस्ता फेक आइडी बन्द गर्न टिकटकलाई पटक–पटक अनुरोध गर्यौं । नेपाल प्रहरीको साइबर ब्यूरो पनि गुहार्यौं । नेपाल दूरसञ्चार प्राधिकरण पनि गुहार्यौं । सबैले प्रयास गर्दा पनि टिकटकले यस्ता फेक आइडी हटाउने र मिथ्या सूचना रोक्ने कुरामा ध्यान नदिएको अवस्था थियो ।

मेरो व्यक्तिगत रूपमा धेरै नै फेक आइडीले गर्दा शुभचिन्तकहरूले दुःख पाउनु भएको अवस्था थियो । तर यो भन्दैमा अहिले जस्तो टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन । यसले विकृति मात्रै ल्याएको मात्र छैन, धेरै नयाँ उद्यमीलाई आफ्नो बजार प्रवर्द्धन गर्ने थलो भएको भएको छ । साथै मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठूलो प्लेटफर्म भएको छ । यति मात्रै हैन टिकटकले नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेको पनि छ ।

अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्दा राम्रो होला । अब भनेको करको दायरामा ल्याउने र टिकटकमार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने हो । अहिले जस्तो बन्द नै गर्ने होइन । बन्द समाधान होइन ।

अब यो बन्दलाई टिकटकसँग नियमन गर्नलाई दह्रो आधार बनोस् । मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् ।

 

प्रतिक्रिया