

माैलापुरकी मेयर साहलाई पुर्नवहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं – रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पुर्नवहाली गर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगले पद गएको भन्ने निर्णयको बदर गर्दै शुक्रबार यस्तो आदेश गरेको हो ।
नेकपा एमालेको सिफारिसमा निर्वाचन आयोगले मेयर रिना कुमारी साहको पद यस अघि निलम्बन गरेको थियो ।
सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ,‘नवेदिकाको नगद प्रमुख पद स्वत रिक्त भएको भनि निर्वाचन आयोगबाट मिति २०८० साल असोज २९ मा भएको निर्णय तथा गोरखापत्रमा प्रकाशित सुचना समेत हाललाई कार्यान्वयन नगर्नुनगराउनु र निज निवेदिकालाई पूर्ववत रौतहट जिल्ला मौलापुर नगरपालिकाको प्रमुम पदमा रहि यथावत कामकारवाही गर्न दिनु भनि विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) बमोजिम अन्तरिम आदेश जारि गरिदिएको छ।’
साथै सर्वोच्चले यस सम्वन्धमा १५ दिनभित्र निर्वाचन आयोगलाई लिखित जवाफ पेश गर्न भनेको छ ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भए पनि उनले दल त्याग गरी अन्य दलको सदस्यता लिएको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुखको पद रिक्त भएको सूचना प्रकाशित गरेको थियो ।
अहिले उनी आम जनता पार्टीमा आबद्ध छिन् । उनी एमाले छाडेर आम जनता पार्टी गठन गरेका प्रभु साहकी पत्नी समेत हुन् ।
साह यसअघि पनि माओवादीबाट सोही नगरपालिकामा मेयर थिइन् । उनी एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गरे पनि अदालतले उनलाई मेयरमा पुनर्वहाली गरेको थियो ।

