

स्वयम्भूमा गाडीको ठक्करबाट मोटरसाइकल पछाडी बस्ने युवकको मृत्यु

काठमाडौं — राजधानीको स्वयम्भूममा निजी गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान काठमाडौंको स्वयम्भू चमतीस्थित सडकमा प्रदेश ३–०१–२३ च ०४७० नम्बरको गाडीले बागमती प्रदेश ०२–०४४ प १७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भई हाल काठमाडौं बानियाँटार बस्ने २५ वर्षीय सुजन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको क्षेत्रपाटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको उपचारको लागि वीर अस्पताल पठाइएको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

