मन्थली एयरपोर्टमा दुई पाइलटबीच युनिफर्ममै कुटाकुट


काठमाडौँ – रामेछाप स्थित मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ ।

शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको हो ।

प्राधिकरणका एक उपनिर्देशकका अनुसार, दुवै जना क्याप्टेनको ड्युटी अदलीबदलीको समय थियो । ‘क्याप्टेन साह विमानस्थल भवनतर्फ आउँदै गर्दा अर्का क्याप्टेन श्रेष्ठ जहाजतर्फ जाँदै थिए,’ ती उपनिर्देशकले भने,‘सन्तोष साहले हात मिलाउन खोज्दा सञ्जीवले धकेले । उनी लडेपछि दुई जनाले हानाहान गरे ।’ घटनापछि क्याप्टेन साहले आफूलाई हातमा चोट लागेको बताएका छन् । क्याप्टेन सञ्जीव श्रेष्ठ भने जहाज लिएर लुक्ला पुगेका छन् । उनलाई र उक्त जहाजलाई लुक्ला विमानस्थलमै ग्राउन्डेड गरिएको छ भने क्याप्टेन साहलाई रामेछापमै ग्राउन्डेड गरिएको छ ।

घटनापछि प्राधिकरणले क्याप्टेन श्रेष्ठको पाइलट इजाजतपत्र खारेज गर्ने तयारी गरेको छ । कुटाकुटको कारण भने खुलेको छैन ।

प्रतिक्रिया