भारतीलाई ईजलासमा नरुन न्यायाधीश मल्लको आग्रह


काठमाडौँ – गुण्डानाइके रिगल भनिने योगराज ढकालको बाँकी कैद कट्टीको निर्णयविरुद्ध परेको रिटको सुनुवाइका क्रममा निवेदक भारती शेर्पा इजलासमै रोएकी छिन् ।

विपक्षी बनाइएका रिगल भनिने योगराज ढकालको तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता लवप्रसाद मैनालीले भारतीलाई मृतक चेतन मानन्धरकी पूर्व पत्नी भनेपछि भारती इजलासमै रोएकी हुन् ।

रिगलको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता मैनालीले रिट निवेदनमै निवेदिकाले आफू मृतक चेतन मानन्धर आफ्नो पूर्वपति भनी उल्लेख गरेको कारण पिआइलमा रिट ल्याउन मिल्ने भए पनि मुद्दाका रूपमा ल्याउन हकदैया नपुग्ने जिकिर लिएका थिए । हकदैया नै नपुग्ने व्यक्ति अर्थात् पूर्व पत्नीले ल्याएको रिट खारेज हुनुपर्ने भन्दै मैनालीले बहस गरेपछि भारती इजलासमै रोएकी थिइन् । त्यसलगत्तै न्यायाधीश सपना प्रधान मल्लले इजलासमा रुन नपाउने भन्दै बहस सुन्न अप्ठेरो भए बाहिरै बस्न निवेदकलाई सुझाव दिएकी थिइन् ।

बुधवार खाजा समय अगाडि विपक्षीका तर्फबाट बहस सकिएको छ । अब विपक्षीले लिएका जिकिरलाई खण्डन गर्नका लागि निवेदक पक्षले जवाफी बहस गर्नेछन् । बहस सकिएपछि आजै आदेश आउने अपेक्षा गरिएको छ । मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा। कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।

मङ्गलवार रिट निवेदकका तर्फबाट बालकृष्ण न्यौपाने, यज्ञनिधि न्यौपाने लगायतले बहस गरेका थिए भने सरकार तर्फबाट महान्यायाधिवक्ता दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी लगायतले बहस गरेका थिए । मङ्गलवार बहस नसकिएपछि बुधवारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

प्रतिक्रिया