दसैँ सुरक्षा : उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइते


काठमाडौँ – काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा यसपालिको दसैँमा तुलनात्मक रूपमा शान्तिपूर्ण वातावरण रहेको पाइएको छ ।

विगतका तुलनामा दसैँ शान्तिपूर्ण भएको र कुनै ठुला घटना, दुर्घटना नभएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

फूलपातीयता आजसम्म केही छिटफुट घटना भए पनि ठुला आपराधिक घटना, चोरी डकैती, तथा दुर्घटना नभएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार शान्ति सुरक्षाका हिसाबले यसपालिको दसैँ विगतका वर्षहरूमा भन्दा सौहार्दपूर्ण रूपमा सकिएको छ । उपत्यकाका तीन जिल्लामा चाडबाड विशेष सुरक्षा योजना तयार पारी निगरानी गरिएको र सम्भावित जोखिम क्षेत्रमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको थियो ।

तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर तीनै जिल्लामा सुरक्षा निगरानी गरिएको उनले जानकारी दिए । प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले भने, “सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी राखिएको थिएन । सादा पोसाकमा पनि प्रहरी परिचालन गरेर सूक्ष्म निगरानी गरिएको थियो भने सुरक्षा निगरानीका लागि ड्रोन र कुकुरको समेत प्रयोग गरिएको थियो । यस अवधिमा उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बन्यो ।

अब छठसम्मै यसलाई जारी राख्ने योजनाका साथ निगरानी भइरहेको छ ।” यद्यपि, कडा सुरक्षाका बीच पनि छिटफुट घटना भने देखिए । यही कात्तिक ४ गते फूलपातीदेखि शुक्रबार बिहानसम्ममा उपत्यकामा एक सय तीन वटा घटना भएका छन् । ती घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एक सय १८ जना घाइते भएका मैनालीले जानकारी दिए ।

यसबीचमा २० वटा सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । सवारी साधनहरू आपसमा ठक्कर खाएर ५१ वटा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ७३ जना घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार कुटपिट र झैझगडाका १३ घटनामा एक जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् ।

चोरीका १० र धारिलो हतियार प्रहारसम्बन्धी दुई वटा घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । जुवा तासको खालबाट काठमाडौँबाट सात, ललितपुरबाट १३ र भक्तपुरबाट दुई जना गरी कूल २२ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट रु. पाँच लाख नगद बरामद गरिएको छ ।

प्रतिक्रिया