

गाजामा पुग्यो राहत सामग्री, युद्ध रोक्ने प्रयासमा इजिप्टमा शान्ति सम्मेलन

काठमाडौँ – इजरायल र प्यालेस्टाइनबीचको लडाइँबाट अति प्रभावित गाजा क्षेत्रमा पहिलो खेप राहत सामग्री पुर्याइएको छ । इजिप्टसँग जोडिएको सीमा नाका रफाहबाट २० ट्रक राहत सामग्री शनिबार गाजामा पुर्याइएको हो ।
एउटा ट्रकमा मृतकलाई राखिने कफिनमात्र रहेको बीबीसीले जनाएको छ । यसैगरी घाइतेहरूका लागि पोर्टेबल ट्रमा ब्याग, औषधि र अन्य अत्यावश्यक सामग्री पनि रहेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल भ्रमण गर्दा राहत सामग्री पुर्याउनका लागि इजिप्टसँग जोडिएको सीमा नाका खोल्न दिन आग्रह गरेका थिए । सोही आग्रह बमोजिम इजरायलले शनिबार उक्त सीमा नाका खुला गरेको हो ।
रफाह नाकाबाट राहत सामग्री गाजामा पुगेको र अब सोही नाकाबाट विदेशी नागरिकहरू बाहिर निस्किन पाउने प्रतीक्षा गरिएको बीबीसीले उल्लेख गरेका छन् । गत असोज २० गते प्यालेस्टाइन लडाकु समूह हमासले इजरायलमा एक्कासी आक्रमण गरेको थियो ।
लगत्तै इजरायलले पनि युद्धको घोषणा गर्दै जवाफी आक्रमण थालेको थियो । यसैबीच इजिप्टको राजधानी कायरोमा इजरायल-प्यालेस्टाइन युद्ध रोक्नका लागि शान्ति सम्मेलन भइरहेको छ । सम्मेलनमा जोर्डन, कतार, इटली, स्पेन, युरोपेली सङ्घ र बेलायतका प्रतिनिधिहरू सहभागी छन् ।
अमेरिका, इजरायल र इरान भने सम्मेलनमा सहभागी छैनन् । सम्मेलनमा सहभागी प्यालेस्टाइन नेता महमुद अब्बासले आफूहरूले आफ्नो भूमि नछोड्ने अडान लिएका छन् ।

