

हवाइ भाडा घटाउन माग गर्दै बुद्ध एयरको कार्यालयमा तुम्लिङटारका स्थानीय

काठमाडौँ – काठमाडौँ-तुम्लिङटार भाडादर घटाउन माग गर्दै स्थानीयले बुद्ध एयरको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। निजी क्षेत्रका विमान कम्पनीले पहाडी जिल्लामा दसैँमा पनि उडान थप नगरेको भन्दै खाँदवारिका स्थानीय युवाहरूले ज्ञापनपत्र बुझाएका हुन्।
खाँदवारिका युवाहरूले उडान थप र भाडा दर घटाउन माग गर्दै बुद्ध एयरको तुम्लिङटार कार्यालयमा बुधबार ज्ञापनपत्र बुझाएका खाँदबारी युथ क्लबले जनाएको छ ।
निजी हवाई कम्पनी सेवामूलकभन्दा पनि नाफामूलक भएको आरोप स्थानीयको छ। दसैँ जस्तो चार्डपर्वमा पनि बुद्ध एयरले सेवा नदिई व्यापार गरेको क्लबले जनाएको छ । उनीहरूले नागरिक उड्डयनको कार्यालय तुम्लिङटारलाई समेत ज्ञापन पत्र दिएका थिए।
बुद्ध एयरको एकलौटी उडान भएका कारण यात्रुहरूसँग मनोमानी ढङ्गले भाडा उठाएको उनीहरूको गुनासो छ। बुद्ध एयरले काठमाडौँ तुम्लिङटार ७२ सिटे जहाजबाट दैनिक उडान भर्दै आएको छ।
२०२८ सालमा स्थापना भएको तुम्लिङटार विमानस्थल ५२ वर्षपछि ७२ सिट क्षमताको ठूलो जहाजले गत जेठ बाट उडान भर्ने थालेको हो।
विश्वकै पाँचौँ अग्लो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत आयोजना, पर्यटकका लागि छोटो दूरीको उडानका कारण यस अघि जहाजको टिकट पाउन समस्या भएको छ। तुम्लिङटार विमानस्थल धावनमार्गको लम्बाइ एक हजार ४२० मिटर लामो रहेको छ।

