प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


काठमाडौं – नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको वडा दशैँ, तिहार छठ तथा नेपाल संवतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष लिलाराज खनालको अध्यक्षता तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको प्रमूख आतिथ्यतामा आयोजित कार्यक्रममा कांग्रेसमा प्रचार विभाग प्रमूख मीन विश्वकर्मा, सांसद् हृदयराम थानी, प्रभावशाली युवा नेता प्रदीप पौडेल, नैनसिंह महर, प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, उपाध्यक्षहरु नकुल अर्याल, जीवन भण्डारी लगायतको सहभागिता रहेको थियो ।

उक्त अवसरमा कार्यक्रमका प्रमूख अतिथि तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अहिले एक आपसमा आरोप लगाउनेभन्दा आफैंले आफ्नो समीक्षा गर्ने समय भएको बताएका छन् । कार्यक्रममा बोल्दै नेता सिटौलाले ‘हामी एक अर्कालाई आरोप मात्रै लगाउँछौँ । अहिले त्यसो गर्नुभन्दा पनि आफुँले के के गरेँ भनेर आफैँले आफैँलाई समीक्षा गर्ने बेला हो’ उनले भने ।

कार्यक्रममा बाेल्दै नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्‍वकर्माले देशभर निराशाको सञ्चार हुनुमा पार्टीका नेताहरुलाई दोष दिएका छन्। उनले कांग्रेसका नेता नै निराशाको संवाहक भएको बताएका हुन्। ‘मुलुकमा निराशाको कुरा सुनाउने हावा चलेको छ। फिल्मको कथा सुनाए झैं एकले अर्कोलाई सुनाएर हिँडेको छ,’ उनले सभापति शेरबहादुर देउवाको विरोध गर्ने महामन्त्री गगन थापा लगायत नेताप्रति लक्षित गर्दै यस विषयमा पार्टी नेतृत्व पनि सम्बोधन गर्नुपर्ने विषय पत्ता लगाउन नसकेर रन्थनिएको बताए।

‘नेतृत्व तहमै बस्नेले पनि भँडास पोखेर हिंड्न सुहाउँछ ?,’ उनले प्रश्‍न गर्दै भने, ‘सबै निराश छन् भनेर कसरी चल्छ ? आसनमा बस्नेले पनि भँडास पोख्‍ने ? यसरी असन्तुष्टि पोख्‍न थालिए मन्त्री पनि खुसी हुँदैनन्। मन्त्री बनाउने पनि खुसी छैनन् होला।’

कार्यक्रममा केन्द्रीय सदस्य तथा सांसद् प्रदीप पौडेलले सत्ता प्राप्‍तिका लागि धेरै थोक गरेकाले असन्तुष्टि चुलिएको दाबी गरे। ‘सबै असन्तुष्ट किन ? पद्धति विकास हुन नसकेर हो। पहुँचका आधारमा काम भएकाले हो,’ पौडेलले भने।

‘हामीमा सत्ताका लागि जे सुकै पनि गर्ने भएकाले पद्धतिको विकास हुन नसकेको हो । अझैपनि पद्धतिका आधारमा नभइकन पहुँचका आधारमा काम हुन्छ,’ हामी कहिले सच्चिने हो पौडेल प्रति प्रश्न गरे ।

उक्त अवसरमा कांग्रेस सांसद हृदयराम थानीले कसैगरी सत्ता छाड्नुहुन्न भन्ने शीर्ष नेतृत्वको अड्डीका कारण असन्तुष्टि चुलिएको बताए। ‘कोही सन्तुष्ट छैन। कसैगरी सत्ता छाड्नुहुन्न भन्ने अडानले यस्तो भएको हो,’ थानीले भने। नेतैपिच्छे गुट चलेको देख्दा कांग्रेसलाई बुझ्नै नसकिने स्थिति आएको उनको भनाइ छ। ‘मैले कांग्रेसलाई बुझ्न सकिनँ। २०३५ मा एसएलसी दिएबाट नेविसंघमा आएको। तैपनि केही बुझिन कांग्रेसबारे,’ थानीले भने।

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कोशीमा भएको घटनाक्रमबारे छलफल गर्न केन्द्रीय समितिको आकस्मिक बैठक बोलाउन माग गरेका छन् । महरले कोशी प्रदेशमा हेर्दा हेर्दै भएको राजनीतिक उथलपुथल बारे बृहत्त छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउनु पर्ने बताए ।

‘कोशीमा शुरु भएको राजनीतिक घटनाक्रम सानो होइन । यसले अन्य प्रदेश र पार्टीमा पार्ने प्रभाव बारे गरिराइमा गएर बुझ्नु जरुरी छ,’ महरले भने ।

प्रतिक्रिया