जन्मोत्सव प्रहरीकोः ६८ औं प्रहरी दिवस मनाइँदै


काठमाडौं – आजभन्दा ६८ वर्षअघि नेपाल प्रहरी ऐनमा लालमोहर लागेको दिन थियो । सोही दिनलाई नेपालका प्रहरीले आफ्नो गठन भएको दिनका रुपमा मनाउँदै आएको छ । यही क्रममा आज (सोमबार) पनि नेपाल प्रहरीले विभिन्न कार्यक्रमसहित आप्mनो ६८ औं प्रहरी दिवस मनाउँदैछ ।

नेपाल प्रहरीले औपचारिक रुपमा वि.स. २०१२ मा ऐनमा लालमोहर लागेको दिनलाई आप्mनो वर्षगाँठको रुपमा मनाएको छ । कानुनी रुपमा नेपाल प्रहरीले आधिकारिता पाएको आज ६८ वर्ष पुगेको हो । प्रहरी दिवसमा देशभरका प्रहरी युनिटहरुमा विभिन्न कार्यक्रमका साथै प्रतियोगितात्मक क्रियाकलाप हुने गरेको छ ।

प्रहरी दिवसमा हरेक प्रहरी युनिटहरुमा विशेष कार्यक्रम गरेर मनाइने गरिएको छ । यसै अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गर्दछ ।

यस दिवसलाई नेपाल प्रहरीले नेपाल आमाका सपुतहरु, अमर प्रहरीलाई सम्झना गर्ने, सम्मान गर्ने, परिवारलाई सम्मान गर्ने, आफ्नो कर्तव्य पालनका सिलसिलामा घाइते भएका प्रहरी कर्मचारी पूर्वजहरु तथा वर्तमानहरुको सम्मान गर्ने, पूर्व प्रहरी अधिकृत र जवानहरुले विगतमा पु¥याएको योगदानको सम्मान गर्ने, उनीहरुले देखाएको सकारात्मक मार्ग निर्देशनमा अगाडि बढ्ने अठोट गर्ने पनि दिनका रुपमा लिइने गरिएको एक प्रहरी उच्च अधिकृत जनाउँछन् ।

उनी भन्छन्, ‘कुनै मानिसले बर्थ डे मनाए जस्तै हो, आजको हाम्रो दिन, हाम्रो संगठनको बर्थ डे हो आज, त्यसैले संगठनभित्रका दुःख सुखहरु शेयर गर्ने दिनका रुपमा मानिन्छ । त्यसैले यसमा संगठनभित्र वियोग सहेकालाई सान्त्वना दिने र असल काम गरेकालाई पुरस्कृत गर्ने दिनका रुपमा मानिन्छ ।’

प्रहरी दिवसलाई संगठनले आफ्ना गतिविधिको बारेमा मूल्यांकन गर्ने, हरेक प्रहरी कमर्चारीले जुन उद्देश्य र कसम खाएर नेपाल प्रहरी प्रवेश गरेको थियो, देश र जनताको सेवा गर्न त्यो सेवा अझ विशिष्टिकृत सेवा गर्छौं भनेर कसम खाने दिनका रुपमा व्याख्या गर्छन् । ‘अर्कोतर्फ विगतमा गरेका कामकारवाहीको समीक्षा गरेर भएका त्रुटिहरुलाई सच्याउने र राम्रा कामहरुलाई निरन्तरता दिने दिन पनि हो,’ ती अधिकृत भन्छन् ।

प्रहरी दिवसमा प्रहरी प्रधान कार्यालयसहित प्रदेश र जिल्लादेखि इलाका प्रहरी कार्यालयसम्म विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ । ‘रक्तदान, सचेतना, सरसफाइ, वृक्षरोपणलगायत विभिन्न गरिरहेका छौं । यहीँ क्रममा उत्कृष्ट काम गर्ने प्रहरी अधिकृत तथा जवानलाई सम्मानित गर्ने, कामको समीक्षा गर्ने हुन्छ । प्रधानमन्त्रीको उपस्थितिमा शहीद अमरप्रति सलामी, माल्यार्पणका काम हुन्छन् ।’

दिवसकै अवसरमा पारेर अमर प्रहरी परिवारलाई सम्मान प्रमाणपत्र तथा छात्रवृत्ति लगायत प्रदान गरिन्छ । दिवसमा कर्तव्य गर्ने शिलशिलामा दुःखद निधन भएका अमर प्रहरीप्रति श्रद्धान्जलि गर्ने, परिवारलाई सम्मान गर्ने कदरपत्र समेत प्रदान गरिनेछ ।

त्यसका साथै संगठनका हरेक सदस्यले आफूले वर्षभरी गरेका कामको समीक्षा गर्छ । राम्रो के के भयो नराम्रो के के भयो ? भोलिका दिनमा कसरी सुध्रेर जाने, कसरी राम्रो गर्ने भन्ने समीक्षा गर्ने आत्मसमीक्षा गर्ने दिनका रुपमा पनि लिइने गरिन्छ ।

दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री, गृहमन्त्रीका साथै सबै सुरक्षा निकायका प्रमुखका साथै पूर्व प्रहरी नेतृत्वका साथै उच्च अधिकृतहरुको उपस्थिति रहनेछ । कार्यक्रमकै बीच समारोहमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत पनि गरिने छ ।

यसपटक नेपाल प्रहरी हेडक्वार्टरले प्रहरी दिवसका अवसरमा दुई दिन विशेष कार्यक्रम आयोजना गर्दैछ । पहिलो दिन अर्थात् सोमबार अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण कार्यक्रम राखिएको छ भने मंगलबार ‘विशेष कार्यक्रम’ राखिँदैछ । अघिल्ला वर्षहरुमा एकैदिन गरिने कार्यक्रममा एकैदिन श्रद्धाञ्जली अर्पण र खुशीयालीका  मनाउने गर्दा केही असहज ठानिएकोले यसपटक फरक–फरक गरि मनाउन लागिएको जनाइएको छ ।

पहिला दिनको कार्यक्रम बिहान ८ः१० मा सुरु हुने जनाएको प्रहरी प्रधान कार्यालयले दोस्रो दिनको कार्यक्रम भने मंगलबार दिउँसो २ः४५ बजे नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजना गरिने जनाएको छ ।

प्रतिक्रिया