

‘मेडिकल स्कर्टिङ’का साथ मनाङ एयरका पाइलट सेढाईंलाई मुम्बई पुर्याइयो

काठमाडौं – मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई मुम्बई लगिएको छ ।
दुर्घटनापछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको छ हो ।
श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको अस्पतालले जनाएको छ । उडानका क्रममा बिरामीसँग ह्याम्स अस्पतालको प्रि-हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी, डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलिजंग शाहीले ‘मेडिकल स्कर्टिङ’ गरेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका प्रवक्ता एवं कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार चार्टर्ड जहाज शनिबार बेलुकी ९ः२० बजे मुम्बईको लागि उडेको थियो।
शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ। साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको बताइएको छ ।

