कमजोर कमाण्डका कारण दुई एसपी तानिए

धार्मिक सद्भाव राख्न नसकेको आरोप


काठमाडौं – प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका प्रहरी प्रमुखको सरूवा भएको छ। पछिल्लो समयमा बाँके र सर्लाहीमा धार्मिक सद्भाव कायम नभएको भन्दै प्रधान कार्यालयले बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौर र सर्लाहीका एसपी नरेशराज सुवेदीको काज सरुवा गरेको हो ।

उनीहरुको ठाउँमा बाँकेमा सुवासचन्द्र बोहरा र सर्लाहीमा प्रवीण धिताललाई पठाइएको छ। बाँकेका एसपी राठोरले जानकारी भएर पनि बालसुधार गृहमा एकजनाको ज्यान जानेगरि भएको झडप रोक्न पहल नगरेकोमा प्रहरी प्रधान कार्यालयमा मौखिक उजुरी समेत परेको छ ।

सामान्य अवस्थामा कार्यकाल पूरा नभई सरूवा गर्न नपाइने भए पनि कमजोर सुरक्षा कमाण्डका कारण राठोर र सुवेदी दुवैको कार्यकाल एक वर्ष पूरा नभई सरूवा भएको हो।

यसअघि बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विपीन आचार्यको पनि सरुवा भएको थियो ।

सर्लाही र बाँकेमा हिन्दू–मुस्लिम समुदायबीच सद्भाव बिथोलिएपछि बसेको सुरक्षा परिषद् बैठकमा पनि दुवै जिल्लाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई सरूवा गर्नुपर्ने निष्कर्ष निकालिएको थियो।

प्रतिक्रिया