साक्षर हुन अण्डा बिक्री


हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ७ रोडिकोट पानीमूल गाउँको महिला समूहले आफू साक्षर हुनका लागि अण्डा र तरकारी बिक्री गरी आएको पैसाले शिक्षिकालाई पारिश्रमिक दिने गरेको छ ।

पच्चीस महिलाको समूहले साक्षरता कक्षाका लागि शिक्षिका राखी अण्डा र तरकारी बेची प्राप्त आय उनलाई दिने गरेको हो । सहभागी देवीसरा जैसीले सबैतिर विभिन्न संघसंस्था, गाउँपालिकालगायतले साक्षर कक्षा सञ्चालन गरेको देखेपछि आफूहरु महिला मिली पढ्ने योजना बनाएको बताइन् । उनले भनिन्, ‘आफ्नो गाउँका २५ जना महिलाको एक महिला समूह बनाएका छौंं, समय मिलाएर बिहान, बेलुकी पढ्ने गछौं ।’ विसं २०७७ साउन २ गतेदेखि सञ्चालन भएको साक्षरता कक्षाबाट दुई महिनाका अवधिमा ल्याप्चेबाट आफूहरु अहिले हस्ताक्षर गर्ने भएको सहभागी महिलाले बताएका छन् । यति मात्र नभएर कोही महिला त सानातिना हिसाब पनि गर्न सक्ने भएको अर्का सहभागी देउरुपा जैसी बताउछिन् ।

देवीसरा भन्छिन् ‘श्रीमानबाट पैसा लुकाएर, अण्डा बेचेर बचत गरेको पैसा र आम्दानी शिक्षिकालाई दिने गरेका छौं । यो सबै महिलाको निर्णय हो ।’ कुनै सभा, भेलामा अगाडि जाँदा पनि अनपढ भनी हेलाँ गरेपछि पढ्ने निधो गरेको उनको भनाइ छ । उनले भने, ‘आमाबुवा शिक्षित भएको भए हामीलाई पनि पढाउँथे होला, नभएकाले आज दुःख भोगेका छौं ।’

महिलाहरुले प्रतिसदस्य पहिलो महिना रु २५ र अहिले रु ५० उठाएर पढिरहेका छन् । अब गाउँका अन्य महिलालाई पनि समेट्ने र गाउँ नै साक्षर बनाउने उनीहरुको लक्ष्य  छ । कक्षा सञ्चालनको जानकारीपछि अहिले गाउँपालिका र सामाजिक संघसंस्थाले केही सहयोग गर्ने आश्वासन दिएको समूहले जनाएको छ । (रासस)

प्रतिक्रिया