गंगादेव गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित १३ विरूद्ध भ्रष्टाचारको मुद्दा दायर


काठमाडाैं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले बुधबार विशेष अदालतमा १३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

गंगादेव गाउँपालिकाको वडा नम्बर २ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको भन्ने उजुरी परेको थियो।

उक्त उजुरीमाथि अनुसन्धान हुँदा अख्तियारले १३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (जनस्वास्थ्य निरीक्षक) सकलदेव यादव, योजना अधिकृत (सहायक पाँचौ) कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नविन डाँगी, सब इन्जिनियर रोशनी विष्ट र खानेपानी तथा सरसफाइ टेक्निसियन बलबहादुर बस्नेतविरूद्ध मुद्दा दायर भएको हो।

त्यस्तै उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडकबहादुर डाँगी, कोषाध्यक्ष चन्द्रकुमारी डाँगी, तत्कालीन उपाध्यक्ष रिता घर्ती, वडा नम्बर २का तत्कालीन वडाध्यक्ष भुपाल दमाइ, वडासदस्य टिका विक, तत्कालीन वडासदस्य गनबहादुर भण्डारी र वडा सचिव कुलबहादुर योगीविरूद्ध मुद्दा दायर छ।

आर्थिक वर्ष २०७६/०७७मा गंगादेव गाउँपालिकाबाट लागत अनुमान तयार भई गंगादेव गाउँपालिकाबाट रकम विनियोजन एवं उपभोक्ता समितिबीच सम्झौता समेत भएको थियो। योजनाको वास्तविक भए गरेको कामभन्दा बढी काम गरेको भनेर उनीहरूले गलत प्रतिवेदन दिएका थिए।

झुट्टा बिल भरपाइ गरी ४ लाख ६६ हजार ४८८ रुपैयाँ बढी भुक्तानी लिएर हानिनोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ। उक्त रकम बिगो कायम गरी अख्तियारले भ्रष्‍टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद र जरिवानाको मागदाबी गरेको छ।

प्रतिक्रिया