

नेपालगञ्जमा आज पनि कर्फ्यू जारी

नेपालगञ्ज – बाँकेको नेपालगञ्जमा बुधबार पनि कर्फ्यू जारी छ। मंगलबारदेखि कर्फ्यू लागेको नेपालगञ्जमा बुधबार स्थिति सामान्य बन्दै गएको छ।
अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा परिचालन भएको पनि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले जानकारी दिए। मानिसहरू भीडभाड हुन, जम्मा हुन भने रोक लगाइएको छ।
स्थिति सामान्य बन्दै गएको हुँदा परिस्थिति विश्लेषण गरी सुरक्षा समितिको बैठक बसेर कर्फ्यू कति लम्ब्याउने भन्नेबारे थप निर्णय गरिने उनले बताए।
उनका अनुसार बाँकेको जमुनाहा नाका झन्डै नौ सयको नेपालीहरू रोकिएकाले उनीहरूलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ।
त्यसका लागि विभिन्न यातायात प्रालिसँग सहयोग मागिएको राठौरले बताए।
सामाजिक सद्भाव खलबलिने आशंका बढेपछि स्थानीय प्रशासनले नेपागञ्जमा मंगलबार दिउँसो एक बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको थियो।
बाँकेमा ओमकार परिवार हिन्दु समाजका एक जना व्यक्तिले असोज १४ गते मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसका कारण धार्मिक एवं सामाजिक सद्भाव खलबलिने अवस्था आएपछि प्रशासनले कर्फ्यू लगाउनु परेको बताएको छ।

