बझाङमा शक्तिशाली भूकम्पछि लगातार परकम्प, पृथ्वी राजमार्गको ठाउँ-ठाउँमा पहिरो


काठमाडौं – सुदुरपश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज (मंगलबार) दिउँसो ६.३ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएपछि लगातार त्यसको परकम्पन महसुस गरिएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको पहिलो भुकम्प गएको थियो भने ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको शक्तिशाली भुकम्प गएको थियो ।

सो पश्चात हालसम्म ४ रेक्टर स्केल माथिका चार वटा परकम्प गइसकेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। ३ बजेर १३ मिनेटमा चैनपुर केन्द्र भएर ५.१ रेक्टर स्केलको परकम्प गएको केन्द्रका प्रमुख बलबहादुर तामाङले बताए। त्यसपछि ३:४५ बजे ४.१, ४:२८ मा ४.१ र ४:३१ मा ४.३ रेक्टर स्केलको परकम्प गएको उनले जानकारी दिए।

लगातार परकम्पका कारण जनजीवन त्रसित भएको छ। भूकम्पले केही घर र विद्यालयका भवन भत्काएको छ। भुकम्पमा परि हालसम्म बझाङमा ६ जना र अछाममा एकजना घाइते भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । भुकम्पको कम्पनका कारण सुक्खा पहिरो जादा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार सडक माथिबाट पहिरो जादा जयपृथ्वी नगरपालिका–७ को कचरी खोलामा राजमार्ग अवरुद्ध भएको छ । उक्त राजमार्गको ठाउँठाउँमा पहिरो खसेका जनकारी आएकोे जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले बताए ।

प्रतिक्रिया