प्रधानमन्त्रीमा माधव नेपाललाई किन प्रस्ताव गर्दैछन् प्रचण्ड?


काठमाडौं– प्रधानमन्त्री पद भनेपछि हुरुक्कै हुन्छन् नेकपा नेता माधवकुमार नेपाल। राजादेखि गिरीजासम्म नेपालले सहकार्य गर्नुको एउटै लक्ष्य थियो– प्रधानमन्त्री बन्नु। अस्वभाविक राजनीतिक अवस्था आएपछि पहिलो संविधानसभाका बेला पुष्पकमल दाहाल प्रचण्डले राजीनामा गरेपछि प्रधानमन्त्रीमा निर्वाचित भए नेपाल।

उनको आलोचना र व्यापक विरोध भएपछि नौ महिनामा नै राजीनामा गरे। तर, राजीनामा गरेको १३ महिनासम्म तत्कालिन व्यवस्थापिका संसदले अर्को प्रधानमन्त्री दिन नसक्दा कामचलाउका रुपमा काम गरेका थिए। त्यति लामो समयमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीमा निर्वाचित हुनका लागि १७ पटकसम्म व्यवस्थापिका संसदमा लिगलिगे दौडमा रहे।

‘त्यहि भएर पनि अहिले पौडेलको आलोचनाका क्रममा १७ पटक दौडँदा पनि प्रधानमन्त्री बन्न असफल भनी व्यंग्य गरिन्छ’, एक नेता भन्छन्,‘यो प्रधानमन्त्री पद नै त्यस्तो रहेछ।’

पौडेल नेपाली कांग्रेसबाट प्रधानमन्त्रीका लागि दौडमा रहे पनि उनलाई तत्कालिन एमाओवादी र नेकपा एमालेले समर्थन गरिदिएन। उक्त दल तटस्थ बस्दा पौडेलले प्रधानमन्त्री बन्ने अवसर नै गुमाए। पछि तत्कालिन एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच ७ बुँदे गोप्य सहमति भयो र खनाल प्रधानमन्त्रीमा निर्वाचित भए।

कांग्रेसले त्यो चोट विर्सेको छैन। अझ खासगरी रामचन्द्र पौडेलले विर्सिएका छैनन्। त्यसैले उनी त्यसको प्रतिशोध लिने तयारीमा छन्। कांग्रेस अहिले सोही भूमिकामा पुगिसकेको धेरैको ठम्याई छ। पौडेलले भनेका छन्,‘अहिले सरकारमा जाने वा नेतृत्व गर्ने होइन, कांग्रेस तटस्थ बस्ने हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद भए पनि सहकार्य नहुने प्रचण्डले बताइसकेका छन्। अब, प्रधानमन्त्री ओलीलाई अल्पमतमा पार्दै अविश्वासको प्रस्तावसहित प्रधानमन्त्रीमा अर्को नाम प्रचण्डले दिनेछन्। उनी आफैं भने अहिले प्रधानमन्त्रीको दौडमा नजाने घोषणासहित आफ्ना समूहका अर्का अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गर्ने तयारीमा छन्।

‘कुनै पनि दलले दाबी नगरेको खण्डमा हाम्रो दलबाट नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्ने तयारी छ’, स्रोतले भन्यो,‘ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता गर्रापछि संसदीय प्रक्रियामा अर्को प्रधानमन्त्रीको प्रस्ताव नेपालकै नाममा हुनेछ, प्रचण्ड त्यसमा राजी हुनुहुन्छ।’

प्रतिनिधि सभा विघटन भएपछि प्रचण्डले प्रधानमन्त्रीको लोभ नभएको बताएका थिए। सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि पनि उनी प्रधानमन्त्रीमा नेपाललाई अघि बढाउने सोचमा छन् भने एक नेता एक पदको सहमतिअनुसार पार्टीको एकल अध्यक्षमा प्रचण्ड रहनेछन्।

त्यसका लागि केही दिनमा नै ओलीलाई संसदीय दलको नेताबाट हटाएर नेपाललाई बनाउने तयारी समेत भएको उच्च स्रोतको दाबी छ। ‘नेपाललाई संसदीय दलको नेतामा चयन गरी प्रधानमन्त्रीमा प्रस्ताव गरिनेछ। अब सहमति खोज्ने काम नेपालको नै हुनेछ’, स्रोतले भन्यो।

नेपाल प्रधानमन्त्रीको दौडमा मैदानमा उत्रिएपछि राजनीतिले फरक दृश्य देख्न सक्ने अनुमान गरिएको छ। यो अनुमान ओली पक्षले पनि गरिरहेको छ। ‘कसैको समर्थन हुँदैन र त्यसपछि प्रतिनिधि सभा विघटनको औपचारिक बाटो खुल्नेछ या प्रधानमन्त्रीमा ओलीलाई नै समर्थन गर्नुपर्ने बाध्यतामा प्रचण्डहरू पुग्नेछन्’, एउटा अन्तरवार्तामा नेता महेश बस्नेतले भनेका छन्।

त्यसको त प्रतिनिधि सभा विघटनको फैसला अघि नै प्रधानमन्त्री ओलीले यस्तो अवस्था आए प्रचण्ड–नेपाल घुमीफिरी प्रधानमन्त्रीका लागि आफैंकहाँ आइपुग्ने अनुमान समेत गरेका थिए। तथापी, प्रचण्ड–नेपालले ओलीसँग सहकार्य हुन नसक्ने जनाइसकेका छन्।

प्रतिक्रिया