

आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता जारी

काठमाडौं – सुरक्षीत काम गर्ने वातावरणको माग गर्दै आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता सुरु भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृह मन्त्रालयमा ३ बजेदेखि वार्ता चलिरहेको छ । वार्तामा स्वास्थ्य मन्त्रालयका अधिकारीसमेत सहभागी छन् । त्यस्तै स्वास्थ्यकर्मी ट्रेड युनियन, मेडिकल काउन्सिल, चिकित्सक सङ्घलगायतका प्रतिनिधि उपस्थित छन् ।
स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डाक्टरहरू सडकमा उत्रिएका छन् । माइतीघरमा भेला भएर स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्ब कार्यान्वयनको माग राखेका थिए ।
यसअघि गएको २७ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर(१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डक्टर प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । यसको विरोधमा नेपाल चिकित्सक सङ्घले ३१ गते देशभर सरकारी अस्पतालको आकस्मिक सेवा बन्द गरेर विरोध गरेको थियो ।
दोषीलाई कारबाही गर्ने सहमतिपछि सङ्घले आन्दोलन फिर्ता गरेको थियो । तर, हिजो फेरि डाक्टरमाथि कुटपिट भएपछि डाक्टर तथा स्वास्थ्यकर्मी कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने माग राखेर आन्दोलनमा निस्किएका हुन् ।
सोमबार पोखरामा र लमजुङमा डिउटीमा खटिएका डाक्टरमाथी हातपात गरेको थियो । आन्दोलनरत चिकित्सकहरुले स्वास्थ्यमन्त्री र गृहमन्त्रीको राजीनामा समेत मागेका थिए ।

