
शिक्षक आन्दोलनः आजदेखि थप सशक्त प्रदर्शन गर्दै राहत र पेन्सन बञ्चित शिक्षक
काठमाडाैं – सरकारसँगको ६ बुँदे सहमतिमा असन्तुष्ट जनाउँदै राहत शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन् । उनीहरूले सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने प्रष्ट पारेका छन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन वञ्चित शिक्षक केन्द्रीय समितिले शनिबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन् ।
पेन्सन वञ्चित शिक्षक समूहका अध्यक्ष अमृत कार्की र महासचिव टीकाबहादुर खड्काले जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी पेन्सन वञ्चित राहत शिक्षक समूह, राहत शिक्षक, बालविकास सहजकर्ता र कर्मचारीहरूको आन्दोलनले सार्थकता पाएको छ । सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरियो ।’
नेपाल राहत शिक्षक केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने निर्णय भएको जनाइएको छ ।
आइतबार थप सशक्त प्रदर्शन गर्ने गरी विभिन्न संघर्ष समितिलगायत सम्पूर्ण शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरूसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय भएको समितिले जनाएको छ ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरूले शनिबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।
शिक्षक महासंघले धोका दिएको राहत शिक्षकहरूको आरोप छ ।
सरकार र शिक्षक महासंघबीच शुक्रवार ६ बुँदे सहमति भएपछि आन्दोलन फिर्ताको घोषणा भएको थियो । तर त्यसलाई राहत शिक्षकहरूले मानेका छैनन् ।



कागजपत्र |
