

प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दा आजदेखि हेर्दाहेर्दैमा, यस दिन आउँदैछ फैसला

काठमाडौं– प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दा आजदेखि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ। पक्ष, विपक्ष र एमीकस क्युरीको लिखित राय पाएपछि यो मुद्दालाई हेर्दा हेर्दैमा राखिएको हो।
संवैधानिक इजलाशका न्यायाधीशहरूले सबै लिखित बहस र राय अध्ययन गरेपछि फैसला दिने तयारी गरेका छन्। हेर्दाहेर्दैमा रहेको यो मुद्दाको फैसला संवैधानिक इजलाश बस्ने दिन बुधबार वा शुक्रबार फैसलाको मिति तय हुनेछ।
‘भोली बुधबार फैसला हुने सम्भावना कम छ। न्यायाधीशहरूले सबै अध्ययन गरेपछि शुक्रबारसम्ममा फैसला आउने सम्भावना रहेको छ’, उच्च स्रोतले भन्यो।
सर्वोच्च अदालतमा संवैधानिक इजलाशा साताको दुई दिन बुधबार र शुक्रबार बस्ने गरेको छ। यसअघि सबै मुद्दालाई थाँती राखी प्रतिनिधि सभा विघटनको मुद्दामा निरन्तर बहस जारी राखिएको थियो।
एमीकस क्युरीको राय सकिनासाथ प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले १० फागुनसम्म लिखित राय बुझाउन भन्दै यो मुद्दा हेर्दाहेर्दैमा जाने घोषणा गरेका थिए। ‘अति नै संवेदनशील र संवैधानिक मुद्दा भएका कारण फैसला चाँडो दिने तयारीमा सर्वोच्च अदालत रहेको छ’, सर्वोच्च स्रोतले भन्यो,‘सकभर १४ फागुन (शुक्रबार) मा यसको फैसला आउनेछ।’

