

महानगर वडा नं. १६ का वडाध्यक्ष रिजालको निधन

काठमाडौं – काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले बताए ।
डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको निधन भएको पुष्टि कांग्रेस नेतृ सिर्जना सिंहले पनि गरेकी छन् ।
।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीकाअनुसार रिजालको पार्थिक सरीरलाई श्रद्धाञ्जली दिनका लागि विहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।
नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए ।
उनको जन्म २०२७ साल कार्तिक १९ गते भएको हो ।
अध्यक्षमा निर्वाचित भएसँगै उनले फोहोर व्यवस्थापनको विषयमा दिएको एक अभिव्यक्ति निकै चर्चामा आएको थियो ।
फोहोर व्यवस्थापन लगायतका विषयमा कार्यपालिकाको पहिलो बैठकमा नै मेयर बालेन शाहसँग उनको चर्काचर्की पनि परेको थियो । पछि मेयर शाह रिजाललाई भेट्न उनकै निवास पुगेका थिए ।
सामाजिक सञ्जालमा समेत निकै सक्रिय रिजालले जनप्रतिनिधिहरुको तलब सुविधा काटेर त्यो रकम विकासको काममा खर्च गर्न प्रस्ताव गरेका थिए ।
रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत हुन् ।

