

विद्युतीय सवारीका लागि प्राधिकरणको आक्रामक तयारी, एकैपटक ५१ चार्जिङ स्टेशन सञ्चालनमा

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत प्राधिकरणले बनाएको देशभरका ५१ वटा चार्जिङ स्टेसन उद्घाटन गरेका छन् ।
ऊर्जामन्त्री बस्नेतले आज नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्घाटन गर्दै एकसाथ देशभरका चार्जिङ स्टेशन उद्घाटन गरेका हुन्।
योसँगै देशको चार्जिङ स्टेसन एकसाथ उद्घाटन भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले करिब ३ वर्षअघि देशभर एकसाथ ५१ वटा चार्जिङ स्टेसन निर्माण गर्ने उद्घोष गरेको थियो ।
स्वदेशमै उत्पादित बिजुली खपत बढाउनुपर्ने र ‘क्लाइमेट चेञ्ज’ तीव्र गति रोक्न समेत विद्युतीय सवारीमा लगानी बढाउनुपर्ने ऊर्जामन्त्री बस्नेतले बताए । प्राधिकरणका अनुसार हाल देशभरका २३० हाराहारी स्थानमा चार्जिङ स्टेशन बनिसकेका छन् ।

