सिरहाबाट ४४ लाख नेपाली रुपैयाँसहित दुईजना समातिए


काठमाडाैं – सिरहामा स्रोत नखुलेको नेपाली रुपैयाँसहित दुईजना पक्राउ परेका छन्।

सिरहा नगरपालिका– १७ माडर कालीचौकमा भारतको जयनगरबाट सिरहा बजारतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ७ सी ४२२४ भएको कारलाई रोकेर चेकजाँच गर्दा स्रोत नखुलेको ४४ लाख बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरी चौकी खिरौना सिरहाबाट प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादव र ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट प्रहरी नायव निरीक्षक अमितकुमार रायको संयुक्त टोलीले गोप्य सुचनाको आधारमा सो कारलाई चेकजाँच गरेपछी स्रोत नखुलेको रकम फेला परेको प्रहरीले जनाएको छ।

कार चालक सिरहा नगरपालिका– १७ माडरका ५२ वर्षीय प्रेमकुमार यादव र सोही कारमा सवार सिरहा नगरपालिका–७ हेमनारायण चौकका ४२ वर्षीय संजयकुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी टेकुनन्द इवा लिम्बुले बताए।

कार चेकजाँच गर्दा कारको आगाडीको सिटमुनीको भागमा घर्रा जडान गरी घर्राभित्र कालो प्लास्टिकमा लुकाएर ल्याएको अवस्थामा स्रोत नखुलेको ४४ लाख नेपाली रुपैयाँ बरामद भएको हो।

स्रोत नखुलेको रकम, पक्राउ गरिएका दुवै व्यक्ति र कारलाई थप अनुसन्धान गर्न राजस्व अनुसन्धान कार्यालय ईटहरी पठाउन लागिएको एसपी लिम्बुले जानकारी दिए। हुण्डी कारोबारका रकम सीमावर्ती भारतीय बजारबाट सिरहासहित तराईका जिल्लाहरु हुँदै नेपाल आउने गरेको छ।

प्रतिक्रिया