
बाजुरामा ३२ वर्षीया गर्भवतीले बाटोमै जन्माइन शिशु
बाजुरा – बाजुराकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चा जन्माएकी छन्। बाजुरा खप्तड छेडेदह गाउँपालिका–१ काँडाकी उज्जलीलाई सुत्केरी व्यथा लागेपछि अछामको बयलपाटा अस्पतालमा पुगेकी थिइन्। त्यसपछि स्वास्थ्यकर्मीले घर पठाएका थिए।
अस्पतालमा चिकित्सकले चेकअप गर्दा बच्चा पाउने अवधि १४ दिन नाघिसकेको र तत्काल अप्रेसन गरेर सुत्केरी गराउनुपर्ने बताएका थिए। तर आफन्तले भारतको दिल्लीमा लग्ने भन्दै घर फिर्ता ल्याएपछि बाटोमा बच्चा जन्माएको सिगाडा सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी सिर्जना सार्कीले बताएकी छन्।
घर फर्किने क्रममा बाजुराको बुढीगंगा नगरपालिका–१० पानीभुवाको सडकमा बच्चा जन्माएको सार्कीले बताइन्। बाटोमा उज्जली सुनार व्यथा लागेर ढलेको अवस्थामा स्वास्थ्यक्रमी सार्कीले भेटाएकी थिइन्। अनमी सृजना सार्कीले बाटोमै सुत्केरी गराउनमा सहयोग गरेकी थिइन्।



कागजपत्र |
