
उपचारमा लापरबाहीको पराकाष्ठाः स्टोनको उपचार गर्दा किड्नी गायब, बिरामीको मृत्यु
धनगढी — धनगढीस्थित स्वस्तिक अस्पतालले पत्थरीको अप्रेसनको क्रममा किड्नी नै झिकेपछि बिरामीको मृत्यु भएको छ । मृगौलामा रहेको पत्थरी निकाल्नका लागि अस्पताल पुगेका कञ्चनपुरको बेलौरी, शिवनगरका ऐजनलाल चौधरीको मृत्यु भएको हो ।
चौधरीको दुवै किड्नीमा पत्थरीले गर्दा समस्या आएपछि भदौ ९ गते शनिबार अस्पताल भर्ना गरिएकोमा अपरेशनका क्रममा मृगौला नै झिकेपछि अत्याधिक रक्तश्राव भई उनको मृत्यु भएको जनाइएको छ ।
उनको अपरेशन डाक्टर जोनस तिवारीले गरेका थिए ।
मृतकका भतिजा राजकुमारले भने, ‘सबै परीक्षणपछि सवा १ बजे अप्र्रेसनको लागि अप्रेसन थेटर लगियो । सुरुमा अप्रेसन सफल भयो भनियो । हामीमा खुशीको सीमा थिएन । तर जब साँझ ७ बज्यो बिरामी बेहोस भए । उनको पेट पुरै फुल्यो । बुझ्दा किड्नीको नशा काटिएर रक्तश्राव भएछ । पछि पुनः डाक्टरले अप्रेसन गरे र किड्नी नै झिकिदिए । बिरामीको अवस्था झन बिग्रियो । त्यसपछि डाक्टरले अब सकिँदैन भनेर निस्किए ।’
अस्पतालका अध्यक्ष महेश जोशीले पनि अप्रेसन हुँदा अत्यधिक रक्तश्राव हुँदा त्यसलाई रोक्न किड्नी झिकिएको र त्यसले पनि नरोकिएपछि अवस्था बिग्रिएको स्वीकार गरे । अप्रेसन बिग्रिएकोबारे डाक्टरसँग स्पष्टीकरण सोधिने अस्पताल अध्यक्ष जोशीको भनाइ छ । डाक्टरको प्रष्टीकरण आएपछि सोही अनुसार अगाडि बढ्ने उनले बताए ।
बिरामीका आफन्तले डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएकोले सत्य तथ्य छानविन गरी डाक्टरलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।



कागजपत्र |
