
राप्रपा नेपाल फर्कियो राजसंस्था पुनःस्थापनामा, अध्यक्ष थापाले गरे कार्यपत्र प्रस्तुत
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राजसंस्था पुन:स्थापनाको एजेन्डामा फर्किएको छ । केन्द्रीय समितिको आज सम्पन्न हुने बैठकमा यस बारे औपचारिक निर्णय गर्दै घोषणाको तयारी गरिएको छ ।
पार्टी अध्यक्ष कमल थापाले बैठकमा कार्यपत्र प्रस्तुत गर्दै ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ राप्रपा नेपालको मुलभूत विचार हुने उल्लेख गरेका छन् ।
‘राजसंस्थाको पुनःस्थापना राप्रपा नेपालको मुख्य कार्यनीतिक एजेन्डामध्ये एक हुनेछ,’ उनले भनेका छन् ।
गणतन्त्र र धर्मनिरपेक्षता खारेजीका लागि राप्रपा नेपाल बलियो राष्ट्रिय मोर्चा बनाएरु सडक आन्दोलनमा जानेसमेत थापाले बताए । उनले यसलाई ‘तेस्रो जनआन्दोलन’ को संज्ञा दिएका छन् ।
‘नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाको निम्ति नेपाली जनताद्वारा, नेपाली जनताको निम्ति नेपाली जनताको आन्दोलन नै तेस्रो जनआन्दोलन हो,’ उनले अर्थ्याएका छन् ।
थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्टतन्त्र अन्त्य गर्न सहमत हुने राजनीतिक समूह र दलहरूसँग सहकार्य र एकताको निम्तिसमेत अपील गरेका छन् । थापाको उक्त कार्यपत्र आजको बैठकले पारित गर्नेछ । बैठकपछि दिउँसो २ बजे घोषणासभा राखिएको पार्टी प्रवक्ता राजाराम बर्तौलाले जानकारी दिए ।



कागजपत्र |
