

बस दुर्घटनामा ज्यान गुमाउने ६ जनाको सनाखत हुँदा २ जनाको परिचय खुल्न बाँकी

धादिङ- त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउने आठ जनामध्ये ६ जनाको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार सनाखत भएकाहरू जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका-३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका- ८ का अन्दाजी २४/२५ वर्षका सविन रम्तेल र कास्की फूलबारीका अन्दाजी २४/२५ वर्षका सुमन थापा छन्।
त्यस्तै पर्वत जिल्ला जलजला गाउँपालिका-६ की ४२ वर्षीया राधिका सापकोटा र पर्वतको मोदी गाउँपालिका-५ का ४५ वर्षीय झपटबहादुर क्षेत्रीको मृत्यु भएको एसपी मिश्रले जानकारी दिए।
बाँकी दुई मृतकको परिचय खुलाउने प्रयास भइरहेको उनले बताए। चालक र सहचालक गरी बसमा २५ जना सवार थिए।
दुर्घटनामा १५ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ।

