बालुवाटारमा बसेर शीर्ष नेता नै संविधान विरोधी निर्णय गर्छन्ः शेखर कोइराला


मोरङ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलका शीर्ष नेताहरु बालुवाटारमा बसेर संविधान विरोधी निर्णय गर्ने गरेका आरोप लगाएका छन्।

मोरङको सुन्दरहरैंचामा आयोजित दुलारी सरोकार मञ्चको वार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार कोइरालाले भने, ‘संविधानले एउटा अधिकार दिएको छ तर नेताहरु एक ठाउँमा बस्नुहुन्छ र आफू अनुकुलका निर्णय गर्नुहुन्छ, यसरी देशलाई कहाँ पुर्‍याउन खोजेको?’

कोशी प्रदेश सरकारको विश्वासको मतबारेको प्रसंगमा कोइरालाले भने, ‘अदालतले जे नगर्नु भन्यो शीर्ष नेताहरु बसेर फेरि त्यही गर्नुभयो। संविधान र अदालतमाथिको यस्तो बल मिच्याईं कहिले सम्म?’ नेताहरूकै कारण मुलुक भयावह दुर्घटनाको अवस्थामा पुगेको पनि कोइरालाले टिप्पणी गरे ।

कोइरालाले राजनीतिक दलहरुको चरम राजनीतिले समाज ध्रुवीकरण हुँदै गएको र सामाजिक सदभाव समेत बिथोलिएको बताए।

कार्यक्रममा २०१५ साल देखि हालसम्म निर्वाचित स्थानीय प्रतिनिधि तथा तिनका परिवारलाई सम्मान गरिएको थियो।

 

प्रतिक्रिया