


महिला टी-२० क्रिकेटमा नेपालको लगातार दोस्रो जित, कुवेतलाई ३४ रनले हरायो

काठमाडौं – चार देश सम्मिलित महिला टी–२० क्रिकेटमा नेपालले लगातार दोस्रो खेलमा पनि जिते हात पर्न सफल भएको छ । आज (बुधबार) भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले हराउँदै लगातार दोस्रो खेल जितेको हो।
जितका लागि नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेत निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रनमा समेटियो। कुवेतका लागि जिफा जिलानीले सर्वाधिक ११ तथा खादिजा खलीलले १० रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कुवेतलाई ससतैमा समेट्ने क्रममा इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन्। खुसी डङ्गोलले २ विकेट लिँदा कविता कुँवर, सिता राना मगर र ईश्वरी बिष्टले १र१ विकेट लिए । त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो।
पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो।

