


अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ: विदेशमन्त्री ब्लिङ्कन

काठमाडौं – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले ‘अमेरिका पूर्ववत् स्थितिमा फर्किएको’ बताउँदै महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वकांक्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको बताएका छन्।
आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्ताको रूपमा बीबीसीसँग कुरा गर्दै ब्लिङ्कनले कोभिड-१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिए।
उनले कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गरेका छन्।
यसलाई डोनल्ड ट्रम्पको ‘अमेरिका पहिलो’ नीतिमा व्यापक हेरफेर हुने सङ्केतका रूपमा हेरिएको छ। ।
विश्वका धनी औद्योगिक राष्ट्रहरूको समूह जी७ का नेताहरू एउटा भर्चुअल सत्रका लागि जुटिरहेका बेला ब्लिङ्कनको यो धारणा आएको छ।
खोपका बिषयमा ब्लिङ्कनले के भने?
एक वर्षभित्र विश्वका १९० देशका मानिसहरूलाई दुई अर्ब मात्रा खोप दिने उद्देश्य राखेको कोभ्याक्स खोप कार्यक्रमका लागि अमेरिकाले ४ अर्ब डलर सहयोग गर्दैछ।
‘जबसम्म विश्वका सबैले खोप लगाउँदैनन्, त्यसबेलासम्म वास्तवमा कोही सुरक्षित हुँदैनन्। किनकी भाइरस रहिरह्यो भने त्यो फैलिरहन्छ र उत्परिवर्तन समेत हुन्छ,’ ब्लिङ्कनले भने। ‘उत्परिवर्तन भएर भाइरस फर्कनेछ र सबैतिर मानिसलाई सङ्क्रमित पारिरहनेछ।’
अहिलेसम्म अमेरिकाले २ करोड ७० लाखभन्दा धेरै सङ्ख्यामा आफ्नै जनसङ्ख्यामा खोप लगाएको छ। तर कैयौँ गरिब देशहरूमा खोप कार्यक्रम अझै सुरु हुन सकेको छैन।
ब्लिङ्कनले कोरोनाभाइरसको उत्पत्तिका वियमा प्रकाश पार्न सक्ने सूचना उपलब्ध गराउन चीन असफल भइरहेको समेत आरोप लगाए। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसन्धानकर्ताहरूको एउटा टोलीले सन् २०२१ को सुरुमै चीनमा चार साता बिताएको थियो।
तर त्यसपछि डब्ल्यूएचओको उक्त टोलीका दुईजना विज्ञहरूले उनीहरूले खोजेका विवरणमा चीनले पूर्ण पहुँच दिन अस्वीकार गरेको बताएका थिए।
विदेशमन्त्री ब्लिङ्कनले महामारीहरू पूर्ण स्वरूपमा देखिनुअघि नै पहिचान गर्नका लागि अझ बलियो स्वास्थ्य सुरक्षा प्रणालीको आवश्यकता औँल्याएका छन्।
‘जसका लागि देशहरू पारदर्शी हुनुपर्छ। उनीहरूले सूचना बाँड्नुपर्छ। उनीहरूले प्रकोपको सुरुमै अन्तर्राष्ट्रिय विज्ञहरूलाई पहुँच दिनुपर्छ- जुन कुरा दुर्भाग्यवस हामीले चीनबाट देखेनौँ,’ उनको भनाइ थियो।

