


हलेसी तुवाचुङ नगरपालिकाको वित्तीय प्रगति ३७ प्रतिशत

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्ष ३७ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिइएको छ ।
शुक्रबार आयोजना गरिएको आठौँ नगरसभाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५२ करोड ९९ लाख १३ हजार ६५२ रकम स्वीकृत गरेकामा चालुतर्फ विनियोजन भएको ५ करोड ४२ लाख ५३ हजार ६६० मध्ये २ करोड ९० लाख ६६ हजार ८२२ तथा पूँजीगततर्फ १७ करोड ८१ लाख ६० हजार ९९० विनियोजन भएकामा ५ करोड ६३ लाख ४३ हजार ७४८ खर्च भएको हो ।
गत साउन १ गतेदेखि माघ मसान्तसम्मको अवधिमा चालुतर्फ ५३.४७ प्रतिशत र पूँजीगततर्फ ३१.६२ प्रतिशत वित्तीय प्रगति भएको नगर उपप्रमुख विमला राईले जानकारी दिएकी छन् । शिक्षा शाखाका लागि १९ करोड ९५ लाख विनियोजन भएकामा ७ करोड ९६ लाख ७६ हजार ८६२ खर्च भएको, महिला तथा बालबालिका शाखाका लागि ५२ लाख विनियोजन भएकामा १ लाख ४० हजार ५२० खर्च भएको, स्वास्थ्य शाखाका लागि ५ करोड ७१ लाख विनियोजन भएकामा २ करोड ७४ लाख ६५ हजार ५४० खर्च भएको, योजना शाखाका लागि १७ करोड ८१ लाख ६० हजार ९९० विनियोजन गरिएकामा ५ करोड ६३ लाख ४३ हजार ७४८ खर्च भएको तथा युवा तथा खेलकुदका लागि विनियोजन गरिएको २० लाख विनियोजन गरिएकामा ५ लाख ९४ हजार ६९० खर्च भएको छ ।
नगरसभाले चालु आर्थिक वर्षको स्वीकृत आठ वटा योजनालाई औचित्यता, कारण र पुष्ट्याइसहित संशोधन गरेको छ । ३ लाख ५० हजार विनियोजन गरिएको कालिका–देवीथान–धोद्रेखोला ग्रामिण सडक निर्माण योजनालाई संशोधन गर्दै गैरीगुठ तारेभीर हलेसी ग्रामीण सडक निर्माण योजना कायम गरिएको छ ।
१ लाख विनियोजन गरिएको ताराखसे–गैरीगाउँ–आहाल तथा इन्टेक निर्माण योजनालाई संशोधन गर्दै उद्यमशीलताका लागि ड्राइभिङ तालीम कायम गरिएको नगरसभामा जानकारी दिइएको छ । नगर उपप्रमुख राईले प्रस्तुत गरेको नगरपालिकाको विषयगत शाखा तथा समग्र कार्यक्रमको वित्तीय र भौतिक प्रगति प्रतिवेदन तथा नगरप्रमुख इवन राईले प्रस्तुत गरेके जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई पारित गरेको छ ।
एघार वडा रहेको उक्त नगरपालिकाले गत आर्थिक वर्ष राजस्व बाँडफाँटतर्फको तोकिएको बजेट नआउँदा अधुरा रहेका योजना पूरा गर्न चालु आवको साढे ५ करोड बढी रकम खर्च गरेको छ । नगरपालिकाको आठौँ हिउँदे नगरसभामा उपप्रमुख राईले चालु आवको वित्तीय तथा भौतिक प्रगति प्रस्तुत गर्नेक्रममा सङ्घ र प्रदेशले सिलिङअनुसार राजस्व बाँडफाँटतर्फको पैसा नपठाउँदा अधुरो रहेका योजना पूरा गर्न ५ करोड ५९ लाख ८९ हजार आर्थिक दायित्व पूरा गर्नुपरेको जानकारी दिइन् ।
कोभिड–१९ को कारण देखाउँदै सङ्घ र प्रदेशबाट सिलिङअनुसारको बजेट नआउँदा आव २०७६÷०७७ को अधुरा योजना सम्पन्न गर्ने गरी आर्थिक दायित्व निर्वाह गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको नगरसभामा जानकारी दिइएको छ । गत वर्ष प्रदेश र सङ्घबाट सिलिङअनुसारको बजेट नआएपछि नगरपालिकाको नगरसभाले अधुरा योजना पूरा गर्नका लागि ५ करोड ५९ लाख ८९ हजार विनियोजन गरेको थियो ।
विनियोजन भएका बजेटमध्ये हालसम्म रु तीन करोड ७६ लाख १७ हजार भुक्तानी भइसकेको र १ करोड ८३ लाख ७२ हजारमध्ये पुरानो भुक्तानी बाँकी रकम नगर समपूरक कोषमा थप गरी खर्च गर्ने नगरपालिकाले जनाएको छ । यस्तै, नगरस्तरीय २२ वटा अधुरा योजनालाई पनि पहिलो प्राथमिकतामा राखेर चालु आवको नगरसभाबाट बजेट विनियोजन गरेर अघि बढाइएको छ ।
गत आव सिलिङअनुसारको बजेट नआउँदा अधुरो रहेका वडा नं १ बाहुनीडाँडाका आठ वटा, वडा नं २ डिकुवाका १२ वटा, वडा नं ३ च्यास्मिटारका सात वटा, वडा नं ४ बडहरेका ५ वटा, वडा नं ५ दुर्छिमका चार वटा र वडा नं ६ मङ्गलटारका १० वटा योजनालाई चालु आवको बजेटबाट पूरा गरिएको बताइन् । यस्तै, वडा नं ७ महादेवस्थानका सात वटा, वडा नं ८ धितुङका नौ वटा, वडा नं ९ सल्लेका चार वटा, वडा नं १० अर्खौैलेका छ वटा र वडा नं ११ राजापानीका चार वटा योजनालाई चालु आव बजेट विनियोजन गरेर पूरा गर्नुपरेको जानकारी दिइएको छ ।
बजेट अभावमा अलपत्र र अधुरो रहेका योजनालाई पूरा गर्न यस वर्ष प्राथमिकतामा राखिएको नगरप्रमुख राईले बताइन् । ‘हामीलाई प्राप्त भएको सिलिङअनुसार बजेट निर्माण गर्यौँ, योजना बनायौँ र सम्झौता गरेर काम अघि बढायौँ’, उनले भनिन्, ‘तोकिएको बजेट नआएपछि धेरै योजना अधुरो रहन पुगे । त्यही अधुरो योजना पूरा गर्न हामीले चालु आवको बजेटबाट रकम व्यवस्था गरेर अधुरो रहेका कामलाई अघि बढाएका हौँ ।’

