

सरकारले राम्रो काम गर्दा चौतर्फी घेराबन्दी गरियो : वर्षमान पुन

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी भएको बताएका छन्।
पार्टी सम्वद्ध पेशागत जिल्ला समिति बैठकलाई सोमबार सम्बोधन गर्दै पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमाथि अकारण हमला भइरहेको बताए। यद्यपि सरकार जनताको साथ लिएर सबैखाले घेराबन्दी तोड्दै लक्ष्यमा अघि बढ्ने उनको भनाइ थियो।
‘राम्रो काम गर्दा हाम्रो अध्यक्षले नेतृत्व गर्नुभएको सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको छ’, पुनले भने, ‘हामी सबै घेराहरु तोडेर मुलुक र जनताको पक्षमा काम गर्छौं।’
उनले सरकारले पछिल्लो समय असल नियतका साथ अघि बढाएका लोकप्रिय काम नरोक्ने पनि उल्लेख गरे। वर्तमान सरकारले गठन भएदेखि नै भ्रष्टाचार अन्त्यको अभियान थालेको पुनले बताए।
नक्कली भुटानी शरणार्थी प्रकरण र नक्कली मोही खडा गरेर बालुवाटारस्थित ललिता निवासको सरकारी जमिन हडप्ने गिरोहमा संलग्नहरुमाथि छानबिन अघि बढेपछि सरकारविरुद्ध घेराबन्दी र आक्रमण तीव्र पारिएको उनले चर्चा गरे। सरकारको राम्रो कामको समर्थन गर्नुको साटो प्रतिपक्षी दल र कतिय अवस्थामा सत्ता सहयात्री दलबाटै घेराबन्दी र अप्ठेरोमा पार्ने प्रयास भएको उनको भनाइ थियो।

