

बृहत् नागरिक आन्दोलनद्वारा टुँडिखेल मार्चबाट घोषणा पत्र जारी, भन्छन् टुँडिखेल शासकहरुले कब्जा गरे

काठमाडौं – बृहत नागरिक आन्दोलनले शुक्रबार काठमाडौंमा टुँडिखेल मार्च पास गर्दै घोषणापत्र जारी गरेको छ । प्रधानमन्त्री केपी शर्माओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि आलीको उक्त कदम लोकतन्त्रको विरुद्ध रहेको भन्दै संघर्षका कार्यक्रम गर्दै आएको नागरिक आन्दोलनले जनताका अधिकार रक्षाबाटै लोकतन्त्र सुरक्षित रहने अवधारणा सहितको घोषणापत्र जारी गरेको हो ।
नागरिक समाजले प्रतिनिधिसभा विघटनको विरोधमा सुरु गरेको आन्दोलनमा विभिन्न समूहले ऐक्यबद्धता जनाउँदै आएका छन् । आन्दोलनअन्तर्गत सिंहदरबार महिला मार्च, टीयू मार्चलगायतका कार्यक्रम आयोजना भएका छन् ।
घोषणापत्रमा आदिवासी, जनजाती, महिला, दलित, उत्पीडित समूहको अधिकार स्थापनाबाटै लोकतन्त्र बलियो बन्ने उल्लेख गरिएको छ । नागरिक आन्दोलनका तर्फबाट जेवी विश्वकर्माले बाचन गरेर सुनाएको नागरिक आन्दोलनको घोषणापत्रमा संघीय गणतन्त्रको पहिलो निर्वाचनबाट उदाएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हावी भएको र ओली नेतृत्वको सरकारले जनताको मौलिक हकमा, संघीयताको आधारभूत सिद्धान्तमा, समानुपातिक समावेशीको अभ्यासमा, धार्मिक अधिकारको मर्ममा, राज्य संयन्त्रका अवयवहरुमा, संवैधानिक निकायहरुमा, सर्वसाधारणको स्वास्थ्य र शिक्षामा, किसान र श्रमिकका जीविकोपार्जनमा,हुँदाहुँदै जनताको ठूलो बलिदानी, संघर्ष र आन्दोलनहरुबाट प्राप्त व्यवस्थामा नै सर्वसत्तावादी प्रहार गरेको उल्लेख छ ।
लेखक तथा अभियन्ता रीता साह भन्छिन्, ‘टुँडिखेल शासकहरुले कब्जा गरेका छन् । यो हाम्रो हो । तर हामीलाई छेकबार लगाइएको छ ।’ उनले अझै पनि मधेसी समुदायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको दुस्खेसो पोखिन् । ‘हामीमाथि लादिएको पितृसत्तात्मक लंका भत्काउनेछौं । हामी चुप लाग्नेछैनौं ।’
कार्यक्रमको प्रमुख वक्ता रहेका पत्रकार नारायण वाग्लेले लिच्छिवीकालमा टुँडिखेल क्षेत्रदेखिको ठूलो भागमा उखु खेती हुने गरेको बताउँदै सेनाले कब्जा गरेको टुँडिखेल खुला गराउन माग गरे । उनले माइतीघरदेखि लैनचौरसम्मको विशाल उखुचौर, नागरिकको सम्पत्ति कब्जा गरेर शासकले नारायणहिटी, बागदरबार, लाललदरबार, सेतो दरबारका साथै छाउनीमा रहेको सेनाको मुख्यालय समेत टुँडिखेलमा सारिएको बताए ।
नागरिक आन्दोलनद्वारा जारी घोषणा पत्र:

