

प्रचण्ड नेतृत्वको सरकार इतिहासकै लोकप्रिय : बर्षमान पुन

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अहिलेको सरकार इतिहासकै सबैभन्दा लोकप्रिय रहेको दाबी गरेका छन् ।
पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिबार बोल्दै पुनले वर्तमान सरकार इतिहासकै सर्वाधिक लोकप्रिय सरकार भएको दाबी गरेका हुन् । सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण सरकारलाई जनताले मन पराएको उनको दाबी छ ।
नेता पुनले भने,‘सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएको छ । सुशासनको जगमा समृद्धि हासिल गर्नेतिर सरकारको काम निर्देशित छ । इतिहासमा पहिलो पटक सरकार लोकप्रिय भएको छ ।’
पुनले मुलुकलाई सही नेतृत्व गर्न सक्ने शक्ति आफ्नो दल र प्रधानमन्त्री ‘प्रचण्ड’ भएको बताए । त्यसैकारण संसदमा तेस्रो शक्ति भएर पनि माओवादी अध्यक्ष ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरिरहेको बताए ।
पुनले भने,‘दाहाल माओवादीको मात्र नभई काँग्रेस र एमालेको समेत नेता हो । ३२ सिटसहित प्रतिनिधिसभामा हामी तेस्रो शक्ति छौँ, तर सरकारको नेतृत्व गरिरहेका छौँ । राष्ट्रिय राजनीतिमा समकालीन नेता प्रचण्ड नै हो । काँग्रेस(एमालेले बेलाबेला गाली गर्छन्, तर अप्ठेरो पर्दा निकासका लागि ‘प्रचण्ड’ नै खोज्ने स्थिति छ ।’
गत मंसिरमा सम्पन्न आम निर्वाचनमा पार्टीले करिब ११ प्रतिशत मत पाए पनि सरकारको कामबाट ९० प्रतिशत जनता खुसी भएको उनको भनाइ थियो ।

