
जसपामा हट्याे उमेर हद, २ पटकभन्दा बढी अध्यक्ष हुन नपाइने
काठमाडौं – जनता समाजवादी पार्टी नेपालले पार्टीको विधानबाट उमेर हदको प्रावधान हटाएर कार्यकालको प्रावधान कायम राखेको छ ।
विधान अधिवेशनबाट जसपाले पार्टी केन्द्रीय सदस्यको उमेर हद ७० तय गरेको थियो । विधानको धारा–८६ को उपधारा (१) मा ७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिको पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनीत हुन पाउने छैन भन्ने उल्लेख थियो ।
साउन २५ गते निर्वाचन आयोगले अभिलेखन गरिएपछि कार्यान्वयनमा आएको सो विधानमा धारा ८६ को उपधारा (१) लाई हटाइएको छ । विधानमा यसअघि राखिएको कार्यकाललाई कायमै राखिएको छ । एउटै पदमा लगातार दुई कार्यकाल उम्मेदवार हुन नपाउने प्रावधान कायम राखिएको हो ।
अधिवेशनमा उठेका विषयहरुलाई समेटेर विधानलाई अन्तिम रुप दिन जसपाका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय एक समिति गठन भएको थियो । त्यो समितिले अधिवेशनमा उठेका विषयवस्तुलाई समावेश गरी अन्तिम रुप दिएर प्रमाणीकरणसहित आयोग पठाएको थियो । आयोगले स्वीकृत गरेपछि नयाँ विधान कार्यान्वयनमा आएको छ ।
एउटै पदमा लगातार दुई कार्यकाल उम्मेदवार हुन नपाउने प्रावधान विधानमा कायम छ । यो विधान अनुसार पार्टीका अध्यक्ष उपेन्द्र यादव अब दुई कार्यकाल मात्र अध्यक्ष रहनेछन् । प्रत्येक पाँच वर्षमा महाधिवेशन हुने तोकिएको छ ।



कागजपत्र |
