मङ्गल ग्रह: अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्स अवतरण


काठमाडाैं – अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिना पछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको । नेपाली समयानुसार शुक्रवार बिहान करिब २:४० बजे पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो।

सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले हर्षोल्लास मनाएका थिए। ‘हामीले गर्‍यौँ। हामी त्यहाँ पुग्यौँ,’ उनीहरू खुसी हुँदै चिच्याइरहेका थिए। त्यसको केही समयमै रोभरले कैद गरेको तस्बिर सार्वजनिक गरिएको थियो।

सर्फेस मिसन म्यानेजर जेसीका स्याम्युएल्सका अनुसार अब पर्सिभिअरन्सका सबै कुरा सञ्चालन गर्न सकिने अवस्थामा छ/छैन भनेर हेरिने छ। उक्त रोभरले रातभर आफ्नो ब्याट्री चार्ज गर्ने छ।

यदि उचित वातवारण पाए जीवन ब्युँतिन्छ कि भन्ने प्रश्नको जवाफ खोजिनेछ

यो सन् १९७०को दशकको भाइकीङ मिसन पछि मङ्गल ग्रहमा जीवनको सम्भावना बारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्त्वाकाङ्क्षी परियोजना हो। एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ।

छ वटा पाङ्ग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहनजिक पुगेको हो। मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिसनको सबैभन्दा कठिन चुनौतीका रूपमा हेरिएको थियो।

हेलिकप्टरबाट अध्ययन
पर्सिभिअरन्समा राखिएको इन्जेन्युइटी नाम दिइएको हेलिकप्टरलाई भोलिबाट चलाइने वरिष्ठ वैज्ञानिक तथा हेलिकप्टर परियोजनाकी संयोजक मीमी अङ्गले बताइन।

आगामी ३० दिनमा पाँच वटा उडान भर्ने मिसन तय गरिएको र त्यसले सम्भवतः मङ्गल ग्रहको सतहको उच्च गुणस्तरको तस्बिर उपलब्ध गराउने ठानिएको छ। एउटा ग्रहमा बसेर अर्कोमा उडान गरिने यो पहिलो फ्लाइट हो।

रोभर व्यवस्थापन टोली

अर्बौँ वर्ष अघि मङ्गल ग्रहको जेजेरो भनिने स्थानमा एउटा ताल रहेको र त्यसले जीवहरूलाई बाँच्न सहयोग गरेको हुन सक्ने ठानिएको छ।

पर्सिभिअरन्स रोभर जेजेरो क्रेटरमा नै अवतरण गरेको हो। हालसम्म मङ्गल ग्रहमा १४ मिसनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन्। ती सबै अमेरिकी अभियान हुन्।अमेरिकी प्रयास एकपटक मात्रै सन् १९९९ मा विफल भएको छ। बीबीसी

प्रतिक्रिया