

कांग्रेस बैठकमा सरकार फेर्ने कुरा भएको छैन : लेखक

काठमाडौं – सत्तारुढ नेपाली काँग्रेसले जारी पार्टी संसदीय दलको बैठकमा सरकार परिवर्तनका विषयमा छलफल नभएको बताएको छ।
नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी संसदीय दलको जारी बैठकमा सरकार परिवर्तन गर्ने विषयमा छलफल नभएको बताएका हुन्।
आइतबार दलको बैठकपछि लेखकले सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, फेर्ने विषयमा कुनै कुरा नभएको दाबी गरे।
कांग्रेस संसदीय दलको बैठक सोमबार पुनः ११ बजे बस्ने र बैठकमा सांसदहरुले राखेको सुझावहरुलाई समेटेर निर्णय गर्ने जानकारी दिए।
गत शुक्रबार र आइतबार संसदीय दलको बैठकमा ५० जना सांसदहरुले आ–आफ्नो धारणा राखे।
प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘अस्ती र आज गरेर ५० जना माननीय सदस्यहरुले बोल्नुभएको छ । यहाँ सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, सरकार फेर्ने कुरा भएको छैन।’

