लडाकुको क्यान्टोन्मेन्ट घोटालामा छानबिन गर्न डा. भट्टराईको माग


बुटवल — पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने बताएका छन् ।

नेपाल समाजवादीका पार्टीका अध्यक्ष समेत रहेका डा. भट्टराईले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा क्यान्टोन्मेन्ट घोटालासहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्ने बताएका हुन् ।

विगतमा भट्टराईले लडाकु शिविरमा घोटाला भएको बताउने गरेको तर अहिले चुप लागेको भन्ने पत्रकारको प्रश्नमा उनले व्यक्ति हेरेर एउटा एउटा भन्दा पनि सबै भ्रष्टाचारको छानबिन गरी निकर्षमा पुर्‍याउनुपर्ने बताए ।

आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन फाइलहरु खोल्ने गरिए पनि ठूला दलहरुबीच लाभका पदहरुमा भागबण्डा गरेर अनुसन्धान बीचमै सामसुम हुने गरेको भट्टराईले आरोप लगाए ।

‘आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन विषय उछाल्ने परिपाटी छ, तर ठुला तीन दल साँठगाँठ गरेर भागबण्डामा कुरा मिलाउँछन्, अनि अनुसन्धान सामसुम हुन्छ’, भट्टराईले भने, ‘अहिलेको सरकारले गरिरहेका अनुसन्धान पनि सरकारलाई निल्नु न ओकल्नु भएको छ, निष्कर्षमा पुग्छन् भन्ने विश्वास छैन ।’

ललितानिवास जग्गा प्रकरणमा आफूले छानबिनमा सघाउने र खुशीसाथ बयान दिन जाने उनले बताए ।

प्रतिक्रिया