सर्लाहीमा बाढीले दुईजनाको मृत्यु, ७० जनाको उद्धार


सर्लाही – जिल्लामा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ।

सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए। उनको शव मंगलबार बाँके खोलामा शव फेला परेको हो।

त्यस्तै सर्लाहीको बरहथवा नगरपालिकाअन्तर्गत पर्ने हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो। उनलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका पनि चिकित्सकले मृत घोषणा गरे । बागमतीको बाढीले समनपुर घाटमा सर्लाहीतर्फको सडक बगाएको छ।

यसैबीच बाढीका कारण बागमती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । सर्लाहीको धनकौल गाउँपालिकाअन्तर्गत पर्ने महिनाथपुरका स्थानीय मंगगबार दिउँसो घाँस काट्न तथा गाईवस्तु चराउन गएका थिए । बाढीमा फसेकामध्ये ७० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। कतिपयले पौडी खेलेर ज्यान जोगाएका थिए।

त्यस्तै सर्लाहीको रामनगर गाउँपालिका–२ इनरर्वास्थित बागमती नदीमा पुल निर्माणमा चौकीदारको काम गर्ने दुई जनाको प्रहरीले उद्धार गरेको छ। बाढी आएपछि दुवै जना ज्यान जोगाउन रुखमा चढेका थिए। लगत्तै उनीहरूको उद्धार गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए।

प्रतिक्रिया