
चामलको कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण गर्न माग
काठमाडौं – चामलको कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ काठमाडौंले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाएको छ।
मंगलबार महासंघका सदस्यहरूले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई भेटेर मूल्यवृद्धि नियन्त्रण गर्न र आपूर्तिलाई सहज बनाउनुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएको हो।
महासंघले किसानहरूले उत्पादन गरेको कृषिजन्य वस्तुमा बिचौलियाको कारण उपभोक्ता र उत्पादन गर्ने किसान मारमा परेकाले बिचौलियाको पहिचान गरी किसानलाई उत्पादनको उचित मूल्य उपलब्ध हुने वातावरण सिर्जना गर्नुपर्ने माग राखेको छ।
देशभर फैलिएको लम्की स्कीन रोग नियन्त्रणका लागि पहल गरी आवश्यक क्षतिपूर्ति दिनुपर्ने माग राखेको अखिल नेपाल किसान महासंघ काठमाडौंका अध्यक्ष केवी घलेले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी बस्नेतले ज्ञापनपत्र बुझ्दै लम्की स्किन रोग नियन्त्रण गर्न र आम किसानको समस्या हल गर्न सबै पक्ष लागि रहेको बताए।
बस्नेतले मंहगी नियन्त्रण गर्न र चामलको कृतिम अभाव हुन नदिन एकीकृत अनुगमन टोली अनुगमन संयन्त्र तयार पारेको, मूल्य वृद्धि र प्रतिबन्धबाट प्रभाव स्टक म्यापिङ गर्ने कार्यको थालनी गरिएको जानकारी दिए।
त्यस्तै महासंघले किसानहरूलाई खेती गर्दा आवश्यक पर्ने मल, बिउबिजन र प्राविधिक सहयोग उपलब्ध गराई माटोमा हुने खेती प्रणालीको पहिचान गरी उचित व्यवस्था गर्नुपर्ने माग राखेको राष्ट्रिय जनमोर्चाका बागमती प्रदेश सदस्य रोशन दानीले बताए।



कागजपत्र |
