सर्वोच्चको फैसलासँगै राहुल गान्धीको लोकसभा सदस्यमा पुनर्बहाली


नयाँदिल्ली- भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्य बहाल भएको छ। राहुल गान्धी केरलाको वायनाडबाट सांसद भएका हुन्। लोकसभाको सचिवलायलयले एक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशपछि गान्धीको सांसद पद बहाली गरिएको उल्लेख गरेको छ।

सन् २०१९ मा राहुल गान्धीले मोदी सरनेमलाई लिएर दिएको एक अभिव्यक्तिले उनी विवादमा परेका थिए। उक्त अभिव्यक्तिलाई लिएर बीजेपीका विधायक पूर्णेश मोदीले सुरतको तल्लो अदालतमा मुद्दा दायर गरेका थिए।

उक्त अदालतले गान्धीलाई दोषी ठहर गर्दै २ वर्ष कैद हुने फैसला सुनाएको थियो। अदालतको यो फैसला आएको २४ घन्टामै गान्धीको लोकसभाको सदस्यता रद्द गरिएको थियो।

त्यस विरुद्ध गान्धीले सर्वोच्चसम्म पुगेर अपिल गरेका थिए। गत शुक्रबार सर्वोच्चले उनको निवेदनमा सुनुवाइ गर्दै मोदी सरनेम विवादमा दिएको अभिव्यक्तिकै आधारमा फौजदारी अभियोगमा दोषी ठहर गर्न नमिल्ने भन्दै सदस्यता रद्द गर्ने निर्णय बदर हुने भनेको थियो। योसँगै उनको सदस्यता बहाल भएको थियो।

प्रतिक्रिया