महिला विश्वकपको क्वार्टरफाइनलमा स्वीडेन, बाहिरियो अमेरिका


मेलबर्न – चार पटकको च्याम्पियन तथा साविक विजेता अमेरिकालाई सडन डेथमा ५-४ को नतिजामा पराजित गर्दै स्वीडेन फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ।

आइतबार अस्ट्रेलियाको मेलबर्नमा भएको खेलको निर्धारित ९० मिनेट गोलविहीन बराबरीमा सकिएको थियो। प्रतिस्पर्धात्मक खेलमा अमेरिकाले धेरै आक्रमण बुने पनि अपेक्षित फिनिसिङ नहुँदा चार पटकको च्याम्पियनले अतिरिक्त समयमा पनि गोल निकाल्न सकेन।

एक सय २० मिनेटपछि पनि गोल हुन नसकेपछि न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी विश्वकपको पहिलो खेल पेनाल्टी सुटआटमा पुगेको थियो।

अविश्वसनीय बनेको पेनाल्टी सुटआउटमा स्वीडेनले बाजी मार्यो। अमेरिकी खेलाडी एन्डी सुलिभान, लिन्ड्से होरान, क्रित्सी मेविस र एलिसा नाहेरको प्रहार गोलमा परिणत भएको थियो।

त्यसबाहेक मेगान रापिनो, सोफिया स्मिथ र केली ओ’हाराले गोल गर्न सकेनन्। अर्कारित स्वीडेनका लागि फ्रिदोलिना रोल्फो, एलिन रुबेनसन, हाना बेनिन्सन, माग्दालेना एरिकसन र लिना हर्टिगले गोल गरे।

नाथाली बोर्न र रेबिका ब्लोमभिस्टको प्रहार असफल बन्यो। जितसँगै स्वीडेन विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। स्वीडेनले अगस्ट ११ मा जापानसँग सेमिफाइनल प्रवेशका लागि खेल्ने छ।

साविक विजेता अमेरिकाको यात्रा अन्तिम १६ मै समाप्त भएको छ। आजै भएको अर्को अन्तिम १६ को खेलमा दक्षिण अफ्रिका लागि २–० ले पराजित गर्दै नेदरल्यान्ड्स पनि क्वार्टरफाइनलमा पुगेको छ।

नेदरल्यान्ड्सले सेमिफाइनल प्रवेशकालागि अगस्ट ११ मै स्पेनसँग खेल्ने छ। भोलि हुने अन्ति १६ का खेलहरूमा इङ्ल्यान्ड र नाइजेरिया तथा अस्ट्रेलिया र डेनमार्क आमने-सामने हुनेछन्।

प्रतिक्रिया