


संसदमा प्रभावकारी भुमिका खेल्न नसकेकाे भन्दै नेतृत्वप्रति नेकपा एसका नेताकाे असन्तुष्टि

काठमाडौं – नेकपा (एकीकृत समाजवादीका सांसदहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै नेताहरुले पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरूले संसदको गरिमा कायम हुने गरी भूमिका निर्वाह हुन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
उनीहरूले संसद् बैठक नै बस्न नदिने काम गरिरहेको भन्दै एमालेको पनि आलोचना गरेका थिए । संसदको भूमिकालाई प्रभावकारी बनाउन नसकेकोमा पार्टी नेतृत्वमाथि पनि बैठकमा प्रश्न उठाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।
हिजो (शनिबार)बाट सुरु भएको पार्टी स्थायी समिति बैठकमा पार्टीको आसन्न १० औं महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको विषयमा केन्द्रित भएर छलफल भइरहेको छ। एकीकृत समाजवादीले पार्टीको आसन्न १०औं महाधिवेशन आगामी माघमा सम्पन्न हुने गरी आवश्यक तयारी गर्न यसअघि पार्टीको सचिवालय बैठक बोलाएको थियो।
उपमहासचिव तुलाधरका अनुसार अब भदौ पहिलो साता बस्ने पोलिटव्युरो र केन्द्रीय समिति बैठकले त्यसबारे ठोस योजना तय गर्नेछ।

