

एकीकृत समाजवादीलाई कांग्रेस र माओवादीले देशैभर धोखा दियाे : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी माओवादीको पिछलग्गु भएको बताएका छन् ।
पार्टीको स्थायी कमिटी बैठकमा १६ पेज लामो लिखित ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ दस्ताबेज पेस गर्दै नेता खनालले यस्तो बताएका हुन् ।
नेता खनालले एमालेबाट विद्रोह गरेर बनेको पार्टी दक्षिणपन्थी बनेको आरोप लगाए । उनले नेकपा एकीकृत समाजवादी स्वतन्त्र पहिचान बनाउन असफल भएको भन्दै माओवादी केन्द्रको पिछलग्गु बनेकोमा आक्रोश व्यक्त गरे।
नेता खनालले भने, ‘आखिर हाम्रो पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बढ्यो ।’ उनले नेपाली कांग्रेस र माओवादी दुवैले आफ्नो पार्टीलाई देशैभर धोखा दिएको पनि बताए। खनालले कांग्रेससँगको गठबन्धनले दक्षिणपन्थीहरुलाई लगातार फाइदा पुगेको भन्दै यसबाट उनीहरू वामपन्थीहरूलाई विभाजन गर्न र त्यसको एक हिस्सालाई उपयोग गरेर आफ्नो शक्ति वृद्धि गर्न सफल भइरहेको बताए ।
नेता खनालले यसरी वामपन्थी समूहहरु दक्षिणपन्थी शक्तिका प्यादा र बैशाखी जस्तो बन्दा आफ्नो साख निरन्तर गिराइरहेकाले यस्तो डरलाग्दो दक्षिणपन्थी गल्तीबाट पार्टीलाई बचाउनुपर्ने बताए।

