उत्तर कोरियालीले १.३ अर्ब डलर ह्याकिङ गरेर चोर्न खोजेको अमेरिकाको आरोप


वासिङ्टन – अमेरिकाले विश्वभरका ब्याङ्क तथा व्यवसायबाट उत्तर कोरियाका तीन नागरिकले १.३ अर्ब अमेरिकी डलरभन्दा बढी रकम चोर्न खोजेको अभियोग लगाएको छ।

पक्राउ नपरेका ती तीन जनामाथि द्वेषपूर्ण क्रीप्टोकरेन्सी प्रोग्रामहरू प्रयोग गरेको आरोप लगाइएको छ। उत्तर कोरियाका ती नागरिकमाथि सन् २०१७ मा ‘वाना क्राइ’ साइवर हमलामा समेत संलग्न रहेको आरोप लगाइएको छ ।

यसले यूकेको स्वास्थ्यसम्बन्धी कम्प्युटर प्रणालीलाई प्रभावित बनाएको थियो। त्यसले यूके बाहेक विश्वभरका १५० भन्दा बढी देशहरूमा समेत प्रभाव पारेको बताइन्छ।

पार्क जीन ह्योकमाथि दुई वर्ष अघि सन् २०१४ मा सोनी एन्टरटेन्मेन्ट पिक्चर्सलाई ह्याक गरेको समेत आरोप लगाइएको थियो। सोनी एन्टरटेनमेन्ट पिक्चर्सले सन् २०१४ मा सार्वजनिक गरेको द इन्टरभ्यु चलचित्र उक्त कम्पनी लक्षित साइवर हमलाको प्रारम्भिक कारण रहेको विश्वास गरिन्छ।

व्यङ्ग्यात्मक उक्त चलचित्रमा उत्तर कोरियाली नेता किम जङ-अनको खिसीटिउरी गरिएको छ। अमेरिकाको न्याय मन्त्रालयले उनी उत्तर कोरियाको सैन्य खुफिया एजेन्सीमा कार्यरत रहेको जनाएको छ। हाल अभियोग लगाइएका तीनै जना उत्तर कोरियामा नै रहेको बताइएको छ जसले अमेरिकी अभियोगका आधारमा आफ्ना नागरीहरूलाई सुपुर्दगी गर्दैन।

बीबीसीका साइबर संवाददाता जो टीडीका अनुसार देशहरूले साइबर हमला गर्ने तीन कारण छन्। 

पहिलो, एकअर्का लक्षित जासुसी गर्न, दोस्रो बौद्धिक सम्पत्तिको चोरी गर्न र तेस्रो अन्य देशको राजनीतिमा हस्तक्षेप गर्न।राजनीतिक रूपमा एक्लिएको उत्तर कोरियाले भने पैसा कमाउने विषयमा रूचि राखेको देखिएको उनी बताउँछन्।

उच्च साइबर क्षमता भएका देशमध्ये उत्तर कोरियाले बेलाबखत आफ्नो सीपको प्रयोग गर्दै आफ्नो अर्थतन्त्र बचाउने गरेको छ र यो उसका लागि उपयोगी सिद्ध भएको देखिएको टीडीले उल्लेख गरेका छन्।

प्रतिक्रिया