

टाइट सेक्युरिटीका साथ लिखित जवाफसहित सर्वोच्च पुगे प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली अवहेलना मुद्दामा लिखित जवाफसहित सर्वोच्च अदालत पुगेका छन् ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलनाको मुद्दा दायर गरेका थिए । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहँदा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले अवहेलना भएकाले हदैसम्मको कारबाही माग गर्दै रिट परेको थियो ।
प्रधानमन्त्री ओली आएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पत्रकार अदालतभित्र जान दिइएको छैन।
संसद विघटनको विरुद्धमा बहस गरिरहेका कानुन व्यवसायीलाई ‘बाजे वकिल’ र ‘तमासा’ भनेको विषयलाई लिएर प्रधानमन्त्रीको आलोचना भएको थियो ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलनामा किन कारबाही नहुनुपर्ने हो रु जवाफसहित उपस्थित हुन आदेश दिएको थियो । सोही बमोजिम प्रधानमन्त्री ओली आज लिखित जवाफ लिएर आफैँ सर्वोच्च अदालतमा उपस्थित भएका हुन् ।

