विगतमा सहमति भएका विषय विधेयकमा समेटिनुपर्छ : शिक्षक महासङ्घ


काठमाडौं – नेपाल शिक्षक महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विगतमा भएका सहमतिका विषय ‘विद्यालय शिक्षासम्बन्धी विधेयक’ मा समेटिनुपर्ने बताएको छ।

महासङ्घले राहत शिक्षक, साबिक उच्च माध्यमिक विद्यालय शिक्षक, बालकक्षा, अस्थायी, करार, विशेष शिक्षा, प्राविधिक धार, शिक्षण सिकाइ अनुदान, संस्थागत विद्यालयका शिक्षक लगायतका विषयमा ध्यानाकर्षण गराउँदै आएको छ।

नेपाल सरकारको यही साउन १६ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक स्वीकृत गरी सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ भने विधेयक सार्वजनिक भएको छैन। महासङ्घका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले बुधबार जारी गर्नुभएको विज्ञप्तिमा मस्यौदामा आफूहरूसँग भएका सहमति र माग सम्बोधन हुनुपर्ने उल्लेख छ।

“धोका भएमा हामी पुनः आन्दोलनका कार्यक्रमसहित आउन बाध्य हुनेछौँ”, विज्ञप्तिमा भनिएको छ, “हामी मुख्य सरोकार पक्षसँग सरकारले आधिकारिक रूपमा मस्यौदामा छलफल र संवाद गर्न चाहेमा हामी तयार छौँ।”

प्रतिक्रिया