

शेखरको प्रश्न- ‘शेरबहादुर देउवाजीसँग म कहाँ मिलेँ ? कहिले मिलेँ ?’

काठमाडौं — कांग्रेस नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग मिलेको भाष्य खडा गरिएकोप्रति आपत्ति जनाए ।
‘मेरो परिवारले केही संस्कार दिएको छ गाली नगर भनेर । बरु गाली खाऊँ, गाली सुन । यो कुरालाई हामीले लिने कि नलिने ? आफ्नो आफ्नो सोचाइ हुन्छ,’ उनले भने, ‘शेरबहादुर देउवाजीसँग म कहाँ मिलेँ ? कहिले मिलेँ ?’
देउवासँग भेटवार्ता गर्न जाने कुरालाई मिल्ने भन्न नहुने उनको भनाइ छ । ‘पहिलो उहाँ बोलाउनु हुन्थेन । म जाँदैन थिएँ । आज बोलाउनु हुन्छ । जान्छु,’ उनले भने ।
बिहीबार नेपाल प्रेस युनियन काठमाडौँको प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै कोइरालाले उक्त कुरा बताएका हुन् ।
कसैलाई गाली गर्नभन्दा कांग्रेसलाई मजबुत बनाउन लाग्नुपर्ने कोइरालाको भनाइ छ । ‘केहीले महामन्त्रीको डिफेन्स गर्नु भएन भन्नुभयो । तर कसैलाई डिफेन्स गर्न आएको होइन । केन्द्रीय समितिमा आफ्नो विवेक प्रयोग गर्ने हो । एउटै कुरा बोल्ने भए एक जनाले बोले भइहाल्यो नि ,’ उनले भने ।
१४ औँ महाधिवेशनमा पाएको ४० प्रतिशत मतलाई ६० प्रतिशत कसरी पु¥याउने भनेर जानुपर्ने उनले बताए । ‘म नेपाली कांग्रेसको सांसद हो । म कुनै ग्रुपको सांसद होइन । मन्त्री मैले पठाउने कुरा आउँदैन । विवादको कुरालाई सुल्टाउँछौं,’ कोइरालाले भने ।
यस्तै उनले पटकको केन्द्रीय समिति बैठक आरोप–प्रत्यारोपमै सकिएको बताए । ‘हामीले गम्भीर छलफल भएन । लाइभ भएपछि म भोलिको नेता हुन्छ भनेर हो कि ? तर म जस्तोलाई भने लाइभ गर्दा अप्ठ्यारो भयो,’ कोइरालाले भने ।
१५ औँ महाधिवेशन आउन साढे दुई वर्ष बाँकी रहेको भन्दै उनले गुटको द्वन्द्व देखाउन आउन नहुने बताए । ‘कांग्रेस र गुटभित्रको द्वन्द्व लेखिराख्नु भएको छ । अधिवेशन आउन कम्तीमा पनि साढे २ वर्ष बाँकी छ,’ उनले भने ।

